

काठमाडौँ – युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले ट्राफिक अनुशासन जीवन व्यवहारमा अपनाउनुपर्ने बताएका छन् । शुक्रबार रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयमा ‘लिमिट द स्पिड सेभ द लाइफ’ अभियानको शुभारम्भ गर्दै मन्त्री गुप्ताले भने, ‘चालक र सहचालकलाई सकारात्मक दृष्टिले हेर्नुपर्छ ।’

चालक र सहचालकप्रति राज्यका निकाय र सरोकारवालाहरू सकारात्मक भएमा दुर्घटना न्यूनीकरणमा त्यसले सहयोग पुग्ने उनले बताए । गुप्ताले भने– ‘चालक र सहचालकलाई जिम्मेवार बनाउन सकेमा दुर्घटना न्यूनीकरण गर्न ठुलो सहयोग पुग्छ ।’

काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले ‘लिमिट द स्पिड सेभ द लाइफ’ अभियानको शुभारम्भ गरेको छ । अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस–२०२५ को अवसरमा युवा परिषद्सँगको समन्वयमा सचेतना कार्यक्रम मार्फत अभियान सुरु गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयमा एसएसपी नवराज अधिकारीले बताए ।
सडक दुर्घटना न्यूनीकरण सचेतना कार्यक्रममा उपत्यका प्रहरी कार्यालयका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) ईश्वर कार्कीले दुर्घटना कम गर्न चालकलाई नै जिम्मेवार बनाउनुपर्ने बताए । उनले भने– ‘स्टेरिङ चालकको हातमा हुन्छ त्यसैले दुर्घटना न्यूनीकरण गर्न चालकलाई नै जिम्मेवार बनाउनुपर्छ ।’

