Aamsanchar

बाह्रदशीमा १ करोड ६६ लाख खेर : जेष्ठ नागरिक भवन पहुँचविहीन

Author Image
आइतवार, मंसिर २२, २०८२


बिर्तामोड । जनताको नजरमा लोकप्रिय बन्ने लक्ष्यसहित ल्याइएका धेरै योजनाहरू ‘वे–मतलवको विकास’ बनेर खेर जाँदै गरेको उदाहरण झापा बाह्रदशी गाउँपालिका–१, भागडुवामा बनेको जेष्ठ नागरिक भवन हो । करिब १ करोड ६६ लाख रुपैयाँ लगानीमा निर्मित यो संरचना आज बजेटहीन, उपयोगहीन र उपेक्षित बनेको छ ।
स्थानीय जनप्रतिनिधिहरूले “काम भएको देखाउन” र “विकास प्रेमी” देखिन खोज्दै २०७७ सालमा हतारमा योजना पास गरी बनाइएको भवन, अहिले खेतको बीचमा सुनसान उभिएको छ । बजार क्षेत्रबाट करिब ५०० मिटर टाढा, पहुँचहीन स्थानमा बनाइएका कारण जेष्ठ नागरिक स्वयं भवन पुग्न इच्छुक नै नबनेको स्थानीयको भनाइ छ ।

अपायक स्थानमा बनाइयो, कसैले प्रयोग गरेनन्
जेष्ठ नागरिकका लागि बनाइए पनि भवनमा उनीहरूको उपस्थिति शून्य छ । कच्ची बाटो, असुरक्षित स्थान र आवतजावतको समस्या मुख्य कारण बनेको छ ।
जग्गादाता पदमबहादुर थापा भवन सञ्चालन नहुँदा अत्यन्त दुःखी छन् ।
उनका अनुसार,
“स्थानीयले सहजै प्रयोग गर्न नसकिने ठाउँमा भवन निर्माण गर्नु आफैंमा जनताको पैसाको दुरुपयोग हो ।”
तीन वर्षदेखि बजेट रोकियो, स्थानीय सरकारको जवाफ—“प्रयोगै हुँदैन”
हालका गाउँपालिका प्रमुख देवेन्द्र चौलागाईले गत तीन वर्षदेखि यस भवनका लागि एक रुपैयाँ पनि बजेट छुट्याएका छैनन् ।
आमसञ्चार डटकमले सोध्दा उनले भने,
“उद्देश्यअनुसार प्रयोगै नहुने भवनमा बजेट दिएर के उपयोग ? स्थानीय नागरिक पुग्नै नसक्ने ठाउँमा सञ्चालन खर्च विनियोजन गर्नु अर्थहीन छ।”

हतारमा योजना, राज्यको बजेट खेर—“एक प्रकृतिको भ्रष्टाचार”
स्थानीयवासीहरूका अनुसार यो योजना कुनै दीर्घकालीन आवश्यकता पहिचान बिना, हचुवाको भरमा, ‘काम देखाउन’ मात्र बनाइयो । परिणामस्वरूप करोडौँको जनधन आज खेतबीचको फोहोर संरचना बन्न पुगेको छ ।

विकास योजनाको आधार अध्ययन, आवश्यकताको मूल्यांकन र स्थान छनोट हुनुपर्नेमा यहाँ ती सबै बेवास्ता गरिएको देखिन्छ ।
योजनाको प्रभावकारिता, भौगोलिक उपयुक्तता र लक्षित समूहको पहुँचलाई नजरअन्दाज गर्दै निर्माण गरिएको यो भवनले राज्यको बजेट खेर फाल्ने परिपाटी झन् गहिरो बनाएको स्थानीयको आरोप छ ।

स्थानीय आवाज : “यो भ्रष्टाचारभन्दा कम छैन”
समुदायका अगुवाहरू यो घटनालाई स्पष्ट रूपमा एक प्रकारको नीतिगत भ्रष्टाचारका रूपमा व्याख्या गर्छन्—
योजना बनाउनेमा विशेषज्ञता र योजनाको उद्देश्यप्रति प्रतिबद्धता देखिएन
लाखौँ लगानी गरेर लक्ष्य समूह नपुग्ने भवन निर्माण हुनु योजनागत कदाचार हो
बजेट खर्च गरिसकेपछि वर्षौसम्म उपयोगविहीन राखिनु जनस्रोतको दुरुपयोग
जिम्मेवारी नलिने, नजिर प्रस्तुत नगर्ने प्रवृत्तिले प्रणालीमै ‘विकृति’ सिर्जना गर्दैछ

उत्तरदायित्वविहीन प्रणालीको अर्को नमुना
बाह्रदशी–१ मा बनेको यो भवन आज उपेक्षा र अव्यवस्थाको प्रतीक बनेको छ ।
राजनीतिक प्रदर्शनका लागि ल्याइएका योजना कसरी जनताको करबाट संकलित अमूल्य बजेट खेर फाल्ने माध्यम बन्छन् भन्ने उदाङ्गो उदाहरण हो ।
योजना निर्माणदेखि कार्यान्वयनसम्मको हचुवाको नीति, त्यसमाथि जनताको आवश्यकता र अपीलप्रतिको बेवास्ता—यी सबै कुरा मिलेर यस्तो अवस्था निम्त्याएको स्थानीय वासीहरूको निष्कर्ष छ ।
राज्यको रकम, समय र श्रमलाई यसरी बेवास्ता गर्नु विकासको नाममा भएको मौन भ्रष्टाचार नभइकन अरू केही होइन ।

Views: 63

प्रतिक्रिया (०)