
बिर्तामोड – प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा पूर्वमा पहिचान आधारित राजनीतिक दलहरूबीच लामो समयदेखि चल्दै आएको एकता प्रयास सफल भएको छ। बुधबार झापाको बिर्तामोडमा आयोजना गरिएको कार्यक्रममा चार पार्टीहरू एकीकृत भएको औपचारिक घोषणा गरिएको हो।
राष्ट्रिय मुक्ति पार्टी नेपाल, कोचिला संघर्ष समिति, नेपाल जनमुक्ति पार्टी (एकता पक्षधर) र संघीय लिम्बुवान पार्टी नेपालबीच एकता गरी अब ‘राष्ट्रिय मुक्ति पार्टी नेपाल’ नाममै पार्टी सञ्चालन गर्ने सहमति जुटाइएको छ।
कार्यक्रममा कोचिला संघर्ष समितिका संयोजक त्रिनारायण राजबंशी, संघीय लिम्बुवान पार्टी नेपालका अध्यक्ष मित्र लिङदेन, जनमुक्ति पार्टी ९एकता पक्षधर० का वरिष्ठ नेता सञ्जुहाङ पालुङवा तथा राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो उपस्थित थिए।
एकतापछि अध्यक्षको जिम्मेवारी राजेन्द्र महतोले सम्हाल्ने छन् भने वरिष्ठ उपाध्यक्षमा सञ्जुहाङ पालुङवा रहने निर्णय गरिएको छ। त्यस्तै उपाध्यक्षमा क्रमशः मित्र लिङदेन र त्रिनारायण राजबंशी मनोनयन भएका छन्। तत्कालका लागि राष्ट्रिय मुक्ति पार्टीको विद्यमान विधान कार्यान्वयनमा लैजाने र विशेष राष्ट्रिय सम्मेलनमार्फत नाम, चिन्ह र झण्डामा आवश्यक संशोधन गर्ने तयारी रहेको उपाध्यक्ष लिङदेनले जानकारी दिए।
चारै पार्टीका संरचनामा रहेका पदाधिकारी तथा सदस्यलाई सहमतिका आधारमा नयाँ समितिमा जिम्मेवारी वितरण गरिने पनि कार्यक्रममा बताइएको छ।
कार्यक्रममा बोल्दै वरिष्ठ नेता पालुङवाले फागुन २१ गते तोकिएको निर्वाचन हुन नसक्ने दाबी गरे। सरकारले आन्दोलनको जनम्याण्डेट बिर्सिएको आरोप लगाउँदै उनले निर्वाचन असम्भव भएको टिप्पणी गरे। साथै, हर्कराज राई नेतृत्वको राजनीतिक धारलाई संकेत गर्दै ४–५ सिट जितेर जाने दलहरूले फेरि अस्थिरता निम्त्याउने दाबी पनि गरे।


