Aamsanchar

रास्वपाको समानुपातिक सूचीमा तोसिमा कार्कीको असन्तोष, ‘विपन्न र विकट क्षेत्रको आवाज हरायो’

Author Image
बुधवार, पौष १६, २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र समानुपातिक उम्मेदवार छनोटलाई लिएर असन्तोष सतहमा आएको छ। पार्टी नेतृ तोसिमा कार्कीले समानुपातिक सूचीको मूल मर्म नै कमजोर पारिएको भन्दै सार्वजनिक रूपमा आपत्ति जनाएकी छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै कार्कीले समानुपातिक प्रणाली पहुँच र शक्तिबाट बाहिर रहेका तर सक्षम व्यक्तिलाई प्रतिनिधित्व गराउने उद्देश्यका लागि ल्याइएको स्मरण गराइन्। तर तयार गरिएको सूचीले त्यो उद्देश्य समेट्न नसकेको उनको टिप्पणी छ। “सूचीले कर्णाली बोल्नुपर्छ, सुदूरपश्चिम बोल्नुपर्छ, गाउँ र विपन्न समुदायको आवाज हुनुपर्छ,” उनले उल्लेख गरेकी छन्।

उनले पार्टी नेतृत्वसँग नजिक रहेका व्यक्ति र ‘भाइटल पोस्ट’ मा रहनेहरू नै समानुपातिक सूचीमा अग्रपङ्क्तिमा देखिनुले प्रणालीकै औचित्यमाथि प्रश्न उठेको बताइन्। विशेषगरी पार्टीको सचिवालय र पदाधिकारीहरूलाई समानुपातिकमा समेटिनु गलत अभ्यास भएको उनको ठहर छ।

कार्कीका अनुसार पदाधिकारी र सचिवालय सदस्यहरू सधैँ लाभको स्थितिमा हुने भएकाले प्राइमरी भोटिङ वा मूल्यांकन प्रक्रियामा पनि उनीहरूलाई स्वाभाविक फाइदा पुग्ने गर्छ। “पार्टीभित्र पदमा बस्ने अनि निर्वाचनमा पनि समानुपातिक सूचीको पहिलो नम्बर सुरक्षित गर्ने प्रवृत्ति पुराना दलभन्दा फरक देखिएन,” भन्दै उनले असन्तुष्टि व्यक्त गरेकी छन्।

उनले पार्टीका सबै पदाधिकारी तथा सचिवालय सदस्यहरूले समानुपातिक सूचीबाट नाम फिर्ता लिएर प्रत्यक्ष चुनाव लड्ने साहस देखाउनुपर्ने पनि आग्रह गरेकी छन्। कार्कीको यो अभिव्यक्तिलाई रास्वपाभित्रको आन्तरिक बहस र आगामी निर्वाचन रणनीतिसँग जोडेर हेरिएको छ।

https://www.facebook.com/share/p/182gzXmuJm/

Views: 68

प्रतिक्रिया (०)