आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले झापा निर्वाचन क्षेत्र नं. ३ बाट प्रत्यक्षतर्फका सम्भावित उम्मेदवारको सूची सार्वजनिक गरेसँगै राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ। विशेषगरी झापा क्षेत्र नं. ५ का नेता दीपक कार्कीको नाम झापा–३ बाट सिफारिस हुनुले सबैभन्दा बढी ध्यान खिचेको छ।

आज सम्पन्न नेकपा एमाले क्षेत्रीय समन्वय कमिटी, झापा क्षेत्र नं. ३ को बैठकले दीपक कार्कीसहित देवेन्द्र आचार्य, बसन्त बानियाँ, सन्तलाल मेचे र हरिबहादुर राजवंशीको नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो। तर फरक क्षेत्रबाट सक्रिय नेता कार्कीलाई झापा–३ को सम्भावित उम्मेदवारका रूपमा अघि सारिनुलाई एमालेको ‘रणनीतिक चाल’का रूपमा हेरिएको छ।

संगठन निर्माण, जनसम्पर्क र पार्टी अनुशासनमा सक्रिय मानिने दीपक कार्की झापामा एमालेभित्र भरपर्दो संगठनकर्ता नेताका रूपमा परिचित छन्। क्षेत्र नं. ५ बाट राजनीति गर्दै आएका कार्कीलाई झापा–३ मा सिफारिस गर्नु पार्टीले क्षेत्रीय सीमाभन्दा माथि उठेर जित सुनिश्चित गर्ने प्रयास थालेको संकेत मानिएको छ।
झापा–३ ऐतिहासिक रूपमा एमालेको प्रभावशाली क्षेत्र भए पनि पछिल्ला निर्वाचनमा पार्टीले निरन्तर सफलता हात पार्न सकेको छैन। यस्तो अवस्थामा फरक क्षेत्रका अनुभवी, संगठनमा जरा गाडेका नेता कार्कीलाई अघि सारेर नयाँ समीकरण बनाउन खोजिएको एमाले वृत्तको बुझाइ छ।

एमाले स्रोतका अनुसार, दीपक कार्कीलाई सिफारिस गर्नुको उद्देश्य पार्टीभित्रको संगठनात्मक क्षमता बलियो बनाउँदै मतदातामाझ नयाँ विश्वास जगाउनु हो। उनीसँग स्थानीय तहदेखि प्रदेशस्तरसम्मको समन्वय क्षमता रहेको भन्दै पार्टीभित्र सकारात्मक मूल्यांकन हुँदै आएको छ।
यद्यपि अन्तिम उम्मेदवार टुंगो लगाउने अधिकार पार्टीको केन्द्रीय कमिटीसँग रहनेछ। तर झापा–३ बाट दीपक कार्कीको नाम सिफारिस हुनु स्वयंमा एमालेको चुनावी रणनीतिमा आएको नयाँ मोडका रूपमा हेरिएको छ, जसले आगामी निर्वाचनमा झापाको राजनीतिक समीकरण फेरिन सक्ने संकेत दिएको छ।

