Aamsanchar

निर्वाचनमा पार्टी एकताबद्ध भएर जाने बेला भयाे : कृष्ण सिटौला

Author Image
शुक्रवार, पौष २५, २०८२

काठमाडौं – नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले केन्द्रीय कार्यसम्पादन समितिले गरेको निर्णय कार्यान्वयन गर्नु नै पार्टीका लागि हित हुने भएका बताएका छन्। शुक्रबार काठमाडौंमा बसेको कांग्रेस संस्थापन पक्षको भेलापछि सञ्चारकर्मीसँग कुरा गर्दै सिटौलाले विशेष महाधिवेशन अहिलेको आवश्यकता नभएको भन्दै पार्टीलाई एकताबद्ध ढंगले अघि बढाउन केन्द्रीय कार्यसम्पादन समितिले गरेको निर्णय कार्यान्वयन गर्नुपर्ने बताएका हुन्।

 

अहिले पार्टीका नेताहरूकाबीचमा प्रतिष्पर्धा गर्ने बेला नभइ निर्वाचनमा पार्टी एकताबद्ध भएर जाने बेला भएको उनले बताए । उनले आफूहरू पार्टी एकताको पक्षमा,समझदारीको पक्षमा, कार्य सम्पादन समितिले गरेको निर्णयको पक्षमा लागिरहने उल्लेख गरे ।

विशेष महाधिवेशनको पक्ष वा विपक्षमा कति छन् भन्ने अलग कुरा रहेको भन्दै सिटौलाले विशेष महाधिवेशन अहिलेको आवश्यकता नरहेको स्पष्ट पारे । निर्वाचनको तयारी गर्नुपर्ने बेला पार्टीभित्र भएको खैलाबैला उचित नभएको उनको भनाइ छ ।

 

पार्टी जोगाउनलाई के गर्नुहुन्छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा सिटौलाले सर्वसम्मत वा बहुमत जेबाट भएपनि पार्टीले गरेको निर्णयको पालना गर्नु नै पार्टीको हितमा र पार्टी एकताको पक्षमा हुने जिकिर गरे।

Views: 121

प्रतिक्रिया (०)

सम्बन्धित खबर