चारपाने । बाढीले घर बगाएकालाई छानो, पिउन नपाएकालाई स्वच्छ पानी र अभावमा परेकालाई आशाको भरोसा दिँदै आएको सहारा नेपालले आफ्नो सामाजिक यात्राको अर्को अध्यायका रूपमा २९ औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ। झापाको बिर्तामोड–२ चारपानेस्थित केन्द्रीय कार्यालयमा शुक्रबार सम्पन्न साधारणसभाले सहारा नेपालको मानवीय सेवाको अनुभूति र भावी प्रतिबद्धतालाई एकै ठाउँमा प्रस्तुत गरेको हो।

गरिबी न्यूनिकरणलाई राज्यको मूल लक्ष्यसँग जोड्दै शसक्तिकरण, जीविकोपार्जन, स्वास्थ्य, मानवीय सेवा, पूर्वाधार विकास र वातावरणीय संरक्षणका क्षेत्रमा क्रियाशील सहारा नेपालले सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउँदै आएको छ। समृद्ध, उत्थानशील र समतामूलक समाज निर्माणको उद्देश्यसहित स्थापना गरिएको संस्थाले हालसम्म देशका ४३ जिल्लामा सेवा विस्तार गरी चार लाख ९२ हजारभन्दा बढी नागरिकलाई प्रत्यक्ष लाभान्वित गरेको अध्यक्ष भरतकुमार गिरीले जानकारी दिए।

अध्यक्ष गिरीद्वारा प्रस्तुत प्रतिवेदनअनुसार संस्थाले हाल ८ वटा कार्यालय, ३८ वटा सहकारी तथा सिबिओ, १११ वटा महिला तथा आदिवासी समूह, १ वटा बाँसमा आधारित उद्योग, १०८ वटा जल तथा आवास उपभोक्ता संस्था तथा ५ वटा सञ्जालमार्फत आफ्ना कार्यक्रम सञ्चालन गर्दै आएको छ।



विभिन्न परियोजनाको प्रभावकारी कार्यान्वयनका लागि तालिम, गोष्ठी, अनुगमन तथा सरकारी र साझेदार संस्थासँग सहकार्य गर्दै आएको संस्थाले आगामी दिनमा सेवा क्षेत्र अझ विस्तार गर्ने लक्ष्य लिएको छ। साधारणसभामा सचिव गिरीले आगामी कार्ययोजना र भावी कार्यक्रम प्रस्तुत गरे।
संस्थाका अध्यक्ष भरतकुमार गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङले सहारा नेपाललाई “नाम मात्र होइन, व्यवहारमै सबैको सहारा बनेको संस्था” भन्दै प्रशंसा गरे। सहारा नेपाल साकोसका अध्यक्ष हरिबहादुर राजवंशीले पनि शुभकामना मन्तव्य व्यक्त गरे।
सो अवसरमा सुरक्षित आवास परियोजनाका संयोजक भीमप्रसाद भेटवाल उत्कृष्ट कर्मचारीका रूपमा नगदसहित सम्मानित भए। साथै श्री दुर्गा माध्यमिक विद्यालय, गरामनीलाई एक थान टेलिभिजन र दुर्गेश्वरी कृषि सहकारीलाई एक थान कम्प्युटर सहयोग प्रदान गरिएको छ।
कार्यक्रममा उपाध्यक्ष सोमनाथ तिम्सिनाले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन कार्यक्रम व्यवस्थापक मात्रिका सुवेदीले गरेकी थिइन्। साधारणसभाको अवसरमा विविध सांस्कृतिक कार्यक्रमहरूसमेत प्रस्तुत गरिएको थियो।
भिडियो समाचार पनि हेर्नुहोस् ।

