Aamsanchar

दलभन्दा बाहिर उभिँदै संसदतर्फ आशिका तामाङको घोषणा: ‘Gen-Z को आवाज स्वतन्त्र रूपमा प्रतिनिधित्व गर्छु’

Author Image
शुक्रवार, पौष २५, २०८२

काठमाडौँ ।
पछिल्लो समय युवामाझ सक्रिय र स्पष्ट विचारका कारण चर्चामा रहेकी आशिका तामाङले दलगत राजनीतिभन्दा बाहिर रहेर आगामी प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने औपचारिक घोषणा गरेकी छन्। उनले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर २ र ९ लाई प्राथमिकतामा राख्दै संसद यात्रामा अघि बढ्ने स्पष्ट पारेकी हुन्।

विगत केही हप्तादेखि आफू राजनीतिमा प्रवेश गर्ने वा नगर्ने विषयमा गम्भीर आत्ममन्थन र छलफलमा रहेको उल्लेख गर्दै तामाङले सम्बन्धित सरोकारवाला, नागरिक, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा विशेषगरी Gen-Z पुस्तासँग प्रत्यक्ष संवाद गरेको बताइन्। ती संवादका क्रममा सकारात्मक सुझावसँगै आलोचनात्मक र नकारात्मक धारणा पनि आएको उल्लेख गर्दै उनले सबै विचारलाई समान रूपमा सम्मान गरेको जनाइन्।

“यी सबै अनुभव र जनभावनालाई मनन गर्दा दलगत राजनीतिभन्दा माथि उठेर स्वतन्त्र धारमा अघि बढ्नु नै वर्तमान सन्दर्भमा जिम्मेवार निर्णय ठानेँ,” तामाङले आफ्नो घोषणामा उल्लेख गरेकी छन्।

उनका अनुसार यो उम्मेदवारी व्यक्तिगत महत्वाकांक्षाभन्दा पनि नयाँ पुस्ताको आवाज, जवाफदेही राजनीति, पारदर्शिता र व्यावहारिक समाधानप्रति प्रतिबद्धताबाट प्रेरित छ। Gen-Z पुस्ताले उठाइरहेका मुद्दा, असन्तुष्टि र परिवर्तनको चाहना अब संसदभित्र मात्र होइन, सडकदेखि सदनसम्म सशक्त रूपमा प्रतिनिधित्व हुनुपर्ने उनको धारणा छ।

“युवाहरूको सपना, भविष्य र देशको समग्र हितका लागि म दृढ, स्वतन्त्र र निर्भीक रूपमा अघि बढ्नेछु,” उनले विश्वास दिलाइन्।

यसअघि रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) को खुलेर प्रशंसा गर्दै युवामाझ चिनिएकी तामाङको पछिल्लो घोषणालाई नयाँ पुस्ताको राजनीतिक चेतनासँग जोडेर हेरिएको छ। उनको घोषणालाई कतिपयले वैकल्पिक राजनीतिप्रतिको संकेतका रूपमा व्याख्या गरेका छन्।

तामाङले आफ्नो राजनीतिक अठोट यसरी प्रस्तुत गरेकी छन्—

  • युवा पुस्ताको भावनाको कदर

  • सडकदेखि सदनसम्म जनसरोकारका मुद्दाको उठान

  • भ्रष्टाचारविरुद्ध निरन्तर संघर्ष

“‘हाम्री दिदीले हाम्रो आवाज बोल्नुहुन्छ’ भन्ने विश्वासलाई कहिल्यै टुट्न दिने छैन,” भन्दै उनले सबैको सुझाव, समर्थन र आलोचनासहित स्वच्छ र सचेत राजनीतितर्फको यात्रामा सहकार्यको अपेक्षा गरेकी छन्।

घोषणाको अन्त्यमा उनले भगवान श्री पशुपतिनाथको कृपा र जनताको साथ नै आफ्नो शक्ति भएको उल्लेख गर्दै भनिन्—
“हाम्रो साझा यात्रा अब सुरु भयो। जय नेपाल!”

Views: 120

प्रतिक्रिया (०)

सम्बन्धित खबर