Aamsanchar

IPO तर्फ इष्टर्न साहारा कम्पनीः तेस्रो साधारणसभाले तय गर्ने लगानीको नयाँ ढोका, प्रमुख अतिथि महानायक हमाल

Author Image
शुक्रवार, पौष २५, २०८२

बिर्तामोड । इष्टर्न सहारा कम्पनी लिमिटेड अब सार्वजनिक कम्पनीतर्फको यात्राको निर्णायक मोड मा पुगेको छ । पर्सी  बिर्तामोडमा आयोजना हुने तेस्रो वार्षिक साधारणसभा ले कम्पनीलाई सर्वसाधारण लगानीकर्तासामु ल्याउने कि नल्याउने भन्ने विषयमा ऐतिहासिक निर्णय लिने तयारी गरेको छ ।

साधारणसभाको मुख्य आर्थिक एजेन्डा भनेकै कम्पनीको साधारण शेयर (IPO) सार्वजनिक निष्काशन सम्बन्धी प्रस्ताव हो । यो प्रस्ताव पारित भएमा इष्टर्न सहारा कम्पनी निजी स्वामित्वको सीमाबाट बाहिरिँदै पूँजी बजारमार्फत विस्तार हुने दिशामा अघि बढ्नेछ ।

कम्पनीका सञ्चालक समितिले शेयरधनीहरूसमक्ष IPO निष्काशन गर्न आवश्यक सम्पूर्ण प्रक्रिया अघि बढाउन अख्तियारी माग्ने तयारी गरेको छ । यस अन्तर्गत नियामक निकायसँग समन्वय, वित्तीय संरचना परिमार्जन, पुँजी वृद्धि, नियमावली संशोधन तथा निष्काशन व्यवस्थापनका कार्यहरू समेटिनेछन् ।

कम्पनी स्रोतका अनुसार,

“IPO केवल पुँजी संकलनको माध्यम मात्र होइन, पारदर्शिता, उत्तरदायित्व र दीर्घकालीन संस्थागत विकासको ढोका हो । अब कम्पनीले औपचारिक बजार अनुशासनमा आफूलाई उभ्याउने तयारी गरेको छ ।”

तेस्रो साधारणसभामा आर्थिक वर्ष २०८१/०८२ को वित्तीय प्रतिवेदन पनि प्रस्तुत गरिनेछ । वासलात, नाफा–नोक्सान विवरण तथा नगद प्रवाहको विश्लेषणसँगै आगामी आर्थिक वर्षका रणनीतिक प्राथमिकताहरू स्पष्ट पारिने अपेक्षा गरिएको छ । IPO प्रस्तावसँगै पुँजी संरचनामा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाको अर्को महत्वपूर्ण विषय हो ।

अर्थ–विश्लेषकहरूका अनुसार, यदि IPO प्रस्ताव पारित भयो भने पूर्वी नेपालमा आधारित कम्पनीहरूका लागि पूँजी बजार प्रवेशको नयाँ संकेत का रूपमा यो कदमलाई हेरिनेछ । यसले क्षेत्रीय स्तरका लगानीकर्तामा विश्वास बढाउने मात्र होइन, स्थानीय व्यवसायलाई औपचारिक अर्थतन्त्रसँग जोड्ने काम पनि गर्नेछ ।

आइतबार बिहान ११ः३० बजे बिर्तामोडस्थित सिटी सेन्टरको साई पार्टी प्यालेसमा सुरु हुने साधारणसभाले इष्टर्न सहारा कम्पनीको भविष्यको दिशा तय गर्नेछ । IPO पारित हुने–नहुने निर्णयसँगै कम्पनी अब निजी घेराबाट बाहिर निस्केर सार्वजनिक विश्वास र बजार अनुशासनको परीक्षा मा उत्रने संकेत देखिएको छ ।

नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमाल सभाको खुला सत्रमा आइपुग्दै छन् । व्यावसायिक बैठकहरू प्रायः औपचारिक र सीमित घेराभित्र सिमित हुने गर्छन्, तर इष्टर्न सहारा कम्पनी लिमिटेडको तेस्रो वार्षिक साधारणसभा यसपटक फरक बन्ने देखिएको छ । कारण एउटै छ—उद्घाटन सत्रका प्रमुख अतिथि महानायक हमालको उपस्थिती ।

Views: 339

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको भाउ बढ्याे
शुक्रवार, पौष २५, २०८२
सुनचाँदीको भाउ घट्यो
बिहिवार, पौष २४, २०८२