Aamsanchar

झापा–५ मा ओलीलाई टक्कर दिन कुलमान पार्टीको समर्थनमा सविन चाम्लिङ राईको उम्मेदवारी

Author Image
बुधवार, पौष ३०, २०८२

विर्तामोड । राष्ट्रिय परिवर्तन पार्टीले झापाको क्षेत्र नम्बर–५ मा प्रतिनिधिसभा निर्वाचनका लागि सविन चाम्लिङ राईलाई उम्मेद्वार घोषणा गरेको छ । बिर्तामोडमा मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत पार्टीले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि राईलाई उम्मेद्वार बनाएको जानकारी दिएको हो ।

कमल गाउँपालिका निवासी राई लामो समयदेखि फोटोग्राफर पेशामा आबद्ध छन् । पार्टी अध्यक्ष राजेश पोर्तेलको नेतृत्वमा रहेको राष्ट्रिय परिवर्तन पार्टीले उज्यालो नेपाल पार्टीसँग सहकार्य गर्दै चुनावी प्रतिस्पर्धामा उत्रिने जनाएको छ ।

उम्मेद्वार राईले प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली, भ्रष्टाचार शून्यताको अभियानलगायत एजेन्डालाई केन्द्रमा राखेर चुनावी कार्यक्रम अघि बढाइने बताए ।

पार्टीका समानुपातिक उम्मेद्वार तथा शहीद–घाइते तर्फका संयोजक प्रकाश भट्टराईले राष्ट्रिय परिवर्तन पार्टी शहीद, घाइते र जेन–जी पुस्ताको एकताको पार्टी भएको दाबी गरे ।

पार्टीकी नेतृ अञ्जना राईले देशभर उम्मेद्वार चयन तथा घोषणा प्रक्रिया तीव्र रूपमा अघि बढिरहेको जानकारी दिँदै विदेश पलायन रोक्ने र स्वदेशमै रोजगारी सिर्जना गर्ने एजेन्डामा पार्टी केन्द्रित रहने बताइन् ।

सबै वर्ग र समुदायले अपनत्व महसुस गर्ने गरी चुनावी अभियान सञ्चालन गरिएको जनाउँदै पार्टीले बाँसुरी चुनाव चिन्हसहित निर्वाचन मैदानमा उत्रिने जनाएको छ । नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने उम्मेद्वारको रूपमा चाम्लिङ राईको उम्मेदवारीले झापा–५ मा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । झापा ५ नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो । त्यस्तै रास्वपाले बालेन्द्र साहलाई उम्मेदवार बनाउने चर्चा चलिरहेको बेला यता कुलमान नेतृत्व पार्टी तर्फबाट स्थानीय युवा चाम्लिङको उम्मेदवारी घोषणाले झापा ५ थप निर्वाचन चलहपहल बढेको छ ।

Views: 52

प्रतिक्रिया (०)