काठमाडौँ महानगरपालिकाका प्रमुख तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाहले देशको विकास लोकप्रिय नाराले होइन, इमानदार नेतृत्व र दीर्घकालीन दृष्टिकोणले मात्र सम्भव हुने स्पष्ट सन्देश दिएका छन्।

२७ औँ भूकम्प सुरक्षा दिवसको अवसरमा शुक्रबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै शाहले अब राष्ट्र निर्माणको यात्रामा अघि बढ्ने समय आएको बताएका हुन्।

२०७२ सालको विनाशकारी भूकम्पपछि सिभिल इन्जिनियरका रूपमा देशका विभिन्न भागमा काम गरेको अनुभव स्मरण गर्दै उनले काभ्रेमा मात्रै करिब २५ सय घर निर्माण गरिएको उल्लेख गरेका छन्। त्यसपछि गोरखा हुँदै ३५ भन्दा बढी जिल्लामा काम गर्दा नेपाललाई बुझ्ने दृष्टि झनै स्पष्ट बनेको उनको भनाइ छ।
शाहका अनुसार, भूकम्पीय जोखिममा रहेको नेपाल केवल सिभिल इन्जिनियरिङको कोणबाट मात्र सुरक्षित बन्न सक्दैन। “भूगोल, समाज र शासन—यी सबैलाई एउटै सूत्रमा बाँध्न सक्ने सोच आवश्यक छ,” उनले उल्लेख गरेका छन्। यही बुझाइका कारण आफू भारत गई स्ट्रक्चरल इन्जिनियरिङ अध्ययन गरेर विदेशको सुविधा त्यागी देश फर्किएको उनले बताएका छन्।

काठमाडौँ महानगरपालिकाको नेतृत्व सम्हाल्दै गर्दा शब्दभन्दा कामलाई प्राथमिकता दिइएको दाबी गर्दै शाहले स्थानीय तहले चाहेमा जनताले प्रत्यक्ष अनुभूति गर्ने परिवर्तन सम्भव छ भन्ने प्रमाणित भएको बताएका छन्। पारदर्शी प्रणाली, संरचनागत सुधार र सेवामुखी अभ्यासलाई अब राष्ट्रिय स्तरमा विस्तार गर्नुपर्ने समय आएको उनको संकेत छ।
पछिल्लो समय आगामी फागुन २१ गते हुने उपनिर्वाचनमा झापा क्षेत्र नं. ५ बाट उम्मेदवारी दिने चर्चाले तीव्रता पाएको सन्दर्भमा शाहको यो अभिव्यक्तिलाई राजनीतिक यात्राको औपचारिक संकेतका रूपमा पनि हेरिएको छ। उक्त क्षेत्रमा उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्ने तयारी गरिरहेको चर्चा छ।
शाहले देशको विकासलाई सडक, भवन र ठूला संरचनामा सीमित नगर्न आग्रह गर्दै सुरक्षित संरचना, संकटअघि तयारी, जनताको विश्वास जित्ने शासन प्रणाली र आशा जगाउने वातावरण नै वास्तविक विकास भएको बताएका छन्।
“अब अल्पकालीन निर्णय होइन, दीर्घकालीन दृष्टि चाहिन्छ। लोकप्रिय नारा होइन, इमानदार नेतृत्व चाहिन्छ,” शाहको सन्देश छ।
उनका अनुसार, राष्ट्र निर्माणको यो अभियान कुनै एक व्यक्तिको मात्र नभई सुरक्षित र आशालाग्दो भविष्य चाहने सबै नेपालीको साझा अभियान हो। सबैको साथ, सहयोग र विश्वासका साथ अघि बढे मात्रै नेपाल सुरक्षित, दिगो र व्यवस्थित बन्न सक्ने उनले बताएका छन्।


