Aamsanchar

सोनाम ल्होछार आज देशभर उल्लासका साथ मनाइँदै

Author Image
सोमवार, माघ ५, २०८२

बिर्तामोड । तामाङ समुदायको प्रमुख सांस्कृतिक पर्व सोनाम ल्होछार आज देशभर हर्षोल्लासका साथ मनाइँदै छ । ‘ल्हो’ अर्थात् वर्ष वा साल र ‘छार÷सार’ अर्थात् नयाँ भन्ने शब्दबाट बनेको ल्होछार तिब्बती नयाँ वर्षको सुरुवातको प्रतीकका रूपमा मनाइने गरिन्छ ।

नेपालका उच्च पहाडी तथा पहाडी भूभागमा बसोबास गर्ने तामाङ समुदायसहित उत्तर छिमेकी चीन र बौद्धमार्गीहरूको घनत्व रहेका क्षेत्रमा आज विशेष धार्मिक, सांस्कृतिक र परम्परागत कार्यक्रमहरू आयोजना गरिएको छ । माघ शुक्ल प्रतिपदाका दिन पर्ने सोनाम ल्होछारको तयारी हप्तौँअगाडि नै गरिने चलन छ ।

ल्होछारको अवसरमा पुरुष तथा महिलाहरूले रंगीन परम्परागत पोशाक लगाएर डम्फु बाजाको तालमा नाचगान गर्ने, तामाङ सेलो गाउने र विभिन्न परिकारहरूको स्वाद लिने परम्परा रहेको छ । घर–बस्ती सफा गरी बुद्धका चित्र अङ्कित ध्वजापताका टाँगेर पूजा–अर्चना गरिन्छ भने कतिपय स्थानमा सामूहिक रूपमा भेला भई सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिन्छ ।

तामाङ समुदायको ऐतिहासिक पृष्ठभूमि

विभिन्न अध्ययन तथा अनुसन्धानअनुसार ‘ता’ भन्नाले घोडा र ‘माङ’ भन्नाले लडाकु भन्ने अर्थ लाग्ने भएकाले तामाङ समुदाय साहस, वीरता र रणकौशलका लागि परिचित मानिन्छ । प्रकृति प्रेमी समुदायका रूपमा चिनिने तामाङ जातिले सोनाम ल्होछारको अवसरमा कुल पूजा र प्रकृति पूजालाई विशेष महत्व दिने गर्दछन् । छोरीचेलीलाई बोलाएर टीका लगाइदिने परम्परा पनि यस समुदायमा प्रचलित छ ।

ल्होछारमा बाह्र ल्हो (वर्ष) हुन्छन्, जसका नाम मुसा, गोरु, बाघ, खरायो, चील, सर्प, घोडा, बाख्रा÷भेडा, बाँदर, भाले, कुकुर र सुँगुरका नामबाट राखिएका छन् । मुसाबाट सुरु भई सुँगुर वर्षमा पुगेर चक्र पूरा हुने विश्वास छ ।

तीन प्रकारका ल्होछार

नेपालमा मनाइने ल्होछार तीन प्रकारका छन् । गुरुङ समुदायले तोल ल्होसार, तामाङ समुदायले सोनाम ल्होछार, तथा शेर्पा र भोटे समुदायले ग्याल्पो ल्होसार मनाउने गर्दछन् । ल्होछार पर्व तामाङ समुदायका साथै शेर्पा, गुरुङ, मगर, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा र लेप्चा समुदायले पनि मनाउँदै आएका छन् ।

विश्वभर मनाइँदै सोनाम ल्होछार

सोनाम ल्होछार नेपाल मात्र नभई सिङ्गापुर, मङ्गोलिया, मलेसिया, भारत, थाइल्यान्ड, भियतनाम, भुटान, लाओस, म्यान्मार र जापानलगायत मुलुकहरूमा पनि तामाङ समुदायले धूमधामका साथ मनाउँदै आएका छन् । यस अवसरमा बौद्धविहारहरू रंगीन ध्वजापताका, पुष्पद्वार र सजावटले झकिझकाउ बनाइएका छन् ।

ल्होछारका अवसरमा नकारात्मक शक्तिलाई हटाई सकारात्मक ऊर्जाको आह्वान गर्न मुखौटा लगाएर तान्त्रिक नृत्यसमेत गरिन्छ । लामाहरूबाट आशिष् लिएर वर्षभरि शुभ साइतको कामना गरिन्छ । काठमाडौँमा भने टुँडिखेलबाट ¥याली निकाल्ने परम्परा रहेको छ ।

सुँगुर, हाँस, कुखुरा, खसीलगायत विभिन्न परिकारका मासु तथा परम्परागत मिठाइहरू बनाएर आफन्त भेटघाट गर्ने, सामूहिक भोज खाने चलनले सोनाम ल्होछारलाई सामाजिक सद्भाव र सांस्कृतिक पहिचानको पर्वका रूपमा स्थापित गरेको छ । तामाङ समुदायले सयौँ वर्ष पुरानो आफ्नो संस्कार र पहिचानलाई पुस्तौँपुस्तासम्म जगेर्ना गर्दै आएको छ ।

Views: 27

प्रतिक्रिया (०)