Aamsanchar

समाज सेवामा प्रेरणादायी पहिचान बनाउँदै पाथीभरा टोल सुधार संस्था

Author Image
सोमवार, माघ ५, २०८२

झापाको बिर्तामोड नगरपालिका–५ स्थित पाथीभरा टोल सुधार संस्थाले समाज सेवामा प्रेरणादायी काम गर्दै आएको उदाहरणीय संस्थाका रूपमा आफ्नो पहिचान बलियो बनाउँदै आएको छ। टोलको भौतिक, सामाजिक तथा मानवीय विकासलाई केन्द्रमा राखेर निरन्तर सक्रिय रहँदै आएको संस्थाको १८ औँ साधारणसभा सोमबार सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष नारायणप्रसाद चिमरियाको अध्यक्षतामा आयोजित सभामा बिर्तामोड–५ का वडाध्यक्ष रोहित प्रसाईं प्रमुख अतिथि थिए भने प्रतिनिधिसभा सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना मगर विशेष अतिथिका रूपमा सहभागी बनेका थिए ।
साधारणसभामा टोल तथा समाजका विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरूलाई सम्मान गरिएको थियो। १३ धुर जग्गा दान गर्ने गरेर महत्वपूर्ण योगदान पु¥याउनु भएकी स्वर्गीय गिरीराजकुमारी प्रसाईंलाई मरणोपरान्त सम्मान गरिएको छ। उनको सम्मानपत्र छोरा विवेककेशरी प्रसाईं र संगीता बाबा प्रसाईंलाई प्रदान गरिएको थियो।

शैक्षिक क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले एसईई परीक्षामा उत्कृष्ट अंक ल्याई उत्तीर्ण भएका आदित्य साह र आज्ञा चापागाईंलाई ‘तिलरुपा स्मृति पुरस्कार’ प्रदान गरिएको छ। उक्त पुरस्कार टि.एन. चौलागाईंले नगदसहित गरेकोे हो भने विवेककेशरी तथा संगीता बाबा प्रसाईंले पनि थप नगद प्रोत्साहन गरेका थिए ।

यस वर्ष टोलभित्र पहिलो सन्तान जन्माउने आमा र छोरा अनमोल अधिकारीलाई ध्रुवकुमार शिवाकोटीले नगदसहित सम्मान गरे । त्यस्तै उत्कृष्ट बुहारी सम्मान स्मृति अधिकारी निरौलालाई प्रदान गरिएको छ भने टोल तथा घरआँगन सरसफाइमा विशेष योगदान पु¥याउने कमला कार्कीलाई पनि सम्मान गरिएको छ । संस्थापक कोषाध्यक्ष पुष्प आचार्यलाई समेत संस्थाको विकासमा पु¥याएको योगदानको कदरस्वरूप सम्मान गरिएको थियो। सम्मानित सबैलाई प्रमुख तथा विशेष अतिथिहरूले सम्मान प्रदान गरेका थिए ।

सभामा अध्यक्ष चिमरियाले प्रस्तुत गरेकोे वार्षिक प्रतिवेदनअनुसार वि.सं. २०६५ सालमा स्थापना भई २०६६ साल मंसिर १० गते जिल्ला प्रशासन कार्यालय झापामा दर्ता भएको संस्थामा स्थापना कालमा ५६ घरपरिवार मात्र आबद्ध थिए। हाल संस्थामा करिब २०० घरपरिवार सदस्य रहेका छन्, जसमध्ये १४३ परिवार आजीवन सदस्य छन्।
संस्थाको दीगो विकासका लागि विभिन्न दाता तथा सरकारी–गैरसरकारी संघसंस्थाबाट भौतिक, सामाजिक र आर्थिक सहयोग प्राप्त हुँदै आएको अध्यक्ष चिमरियाले जानकारी दिए । संस्थाको नाममा जग्गा व्यवस्थापन, भवन निर्माण तथा टोलभित्रका सडकमा नालीसहित पेभल्स जडानजस्ता पूर्वाधार विकासका काममा सहयोग गर्ने दाताहरूप्रति संस्थाले आभार व्यक्त गरेको छ ।

साधारणसभामा विभिन्न दाताहरूबाट प्रदान गरिएका स्मृति पुरस्कार तथा सहयोग रकमको पनि जानकारी गराइएको थियो। साथै, आगामी दिनमा बालक्लब गठन, मन्दिर निर्माण, ज्येष्ठ नागरिकका लागि तीर्थयात्रा, टोलभित्रको ७ नम्बर सडक स्तरोन्नति, योग–प्राणायाम कार्यक्रम, भवनमा इन्टरनेट तथा वाइफाइ जडान, महिला तथा ज्येष्ठमैत्री कार्यक्रम, रक्तदान कार्यक्रम, धार्मिक–सांस्कृतिक कार्यक्रम र पाथीभरा टोलको ऐतिहासिक स्मारिका प्रकाशन गर्ने योजना सार्वजनिक गरिएको छ।
कार्यक्रममा स्वागत तथा औचित्यमाथि पूर्व अध्यक्ष मोहनप्रसाद ओलीले प्रकाश पारेका थिऐ भने कार्यक्रम सञ्चालन सचिव छविकृष्ण बरालले गरेका थिए ।

Views: 76

प्रतिक्रिया (०)

सम्बन्धित खबर