

काठमाडौँ – भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका घटनाको अध्ययन गर्न बनेको जाँचबुझ आयोगको समय आज सकिँदैछ।

घटनाको जाँचबुझ गरी तीन महिनाभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिएर गत भदौमा पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा आयोग गठन गरिएको थियो। तर, समयमै काम नसकिएपछि एक महिना म्याद थप गरिएको थियो । थपिएको समय पनि आज सकिन लागेको हो । तर, प्रतिवेदन लेखनको काम अझै सकिएको छैन । आयोगका अनुसार अहिलेसम्म प्रतिवेदन लेखनको ८० प्रतिशत सकिएको छ ।
केही दिनअघि मात्र आयोगको टोलीले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी प्रतिवेदन लेखनको काम बाँकी रहेकाले दुई साता समय थप्न आग्रह गरेको थियो। प्रधानमन्त्री कार्कीका प्रेस संयोजक राम रावलका अनुसार गृहमन्त्रालयमार्फत आएको प्रस्तावका आधारमा म्याद थप हुनेछ । तर, अहिलेसम्म कुनै प्रस्ताव आएको छैन। आयोगको म्याद मन्त्रिपरिषद्ले थप गर्नुपर्छ।

आयागले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको घरमै गएर बयान लिएको थियो । यस्तै पूर्वगृहमन्त्री रमेश लेखकसहित सुरक्षा प्रमुखहरु, मुख्यसचिव, सचिव, काठमाडौँका प्रमुख जिल्ला अधिकारी, काठमाडौँ महानगरका तत्कालीन प्रमुख, विभिन्न जिल्लामा त्यसबेला सुरक्षामा खटिएका कमान्डर र जेनजी अभियन्ताहरुसँग समेत बयान लिएको थियो । भदौ २३ को घटनामा राज्य पक्षबाट र २४ गते प्रदर्शनकारीबाट ठूलो जनधनको क्षति भएको थियो ।


