काठमाडौँका सडक छेउ, पार्क र नदी करिडोरमा देखिन थालेका खाली स्थानले पछिल्लो समय अनेक अड्कल जन्माएको छ। विशेषगरी मेयर बालेन शाहले काठमाडौँ महानगरपालिकाबाट राजीनामा दिएको हल्लासँगै सार्वजनिक कुर्सी हटाइएको आरोप सामाजिक सञ्जालमा फैलिन थालेपछि महानगरपालिकाले औपचारिक रूपमा प्रष्टीकरण दिएको छ।

महानगरपालिकाका अनुसार सार्वजनिक कुर्सी हटाउने कुनै निर्णय गरिएको छैन। बरु कुर्सीहरूलाई अझ व्यवस्थित, आकर्षक र प्रयोगमैत्री बनाउने उद्देश्यले मर्मत, सम्भार र पुनः व्यवस्थापनको काम अघि बढाइएको हो।

विज्ञप्तिमार्फत महानगरले जनाएको छ, “पुराना तथा जीर्ण कुर्सीहरूको मर्मत र रंगरोगन गरिनेछ। यात्रुको चाप बढी हुने स्थानमा कुर्सी संख्या बढाइनेछ र एकै स्थानमा एकरूप शैलीका कुर्सी राखेर सौन्दर्य र सहजता कायम गरिनेछ।”
सार्वजनिक निर्माण विभागका प्रमुख सुरेश राईका अनुसार पैदल यात्रुका आवश्यकता केन्द्रमा राखेर काम भइरहेको छ। “उमेर समूह, शारीरिक अवस्था र आरामको आवश्यकतालाई ध्यानमा राखेर कुर्सी व्यवस्थापन गरिरहेका छौँ,” उनले भने, “पहिले राखिएका स्थानबाट कुर्सी हटाउने योजना छैन, तर एकरूपता कायम गर्न साटफेर हुन सक्छ।”

हाल सिंहदरबार–भद्रकाली सडक खण्डमा राखिएका फलाम र काठ मिश्रित कुर्सीहरूको मर्मत कार्य सुरु भइसकेको छ। सो क्षेत्रमा दुई प्रकारका कुर्सी रहेका थिए, जसमध्ये पुराना बेञ्च मर्मत र रंगरोगनपछि पुनः यथास्थानमै राखिने महानगरले जनाएको छ। यसअघि आवश्यकता अनुसार कुर्सी यताउता सार्ने अभ्यासलाई पनि अब व्यवस्थित बनाइने बताइएको छ।
महानगरपालिकाको सार्वजनिक निर्माण विभाग र उद्यान तथा हरियाली प्रवर्धन आयोजनाले संयुक्त रूपमा यो काम गरिरहेका छन्, जसमा आयोजनालाई प्राथमिक जिम्मेवारी दिइएको छ।
महानगरका अनुसार २०८१ साल असोज महिनामा सहरका विभिन्न स्थानमा १४० वटा सार्वजनिक कुर्सी राखिएका थिए। ती कुर्सीहरू १.५ मिटर लम्बाइ र आधा मिटर चौडाइका छन्। सार्वजनिक खरिद प्रक्रियामार्फत खरिद गरिएका ती कुर्सीको मूल्य करसहित प्रतिवटा १८ हजार ६५५ रुपैयाँ परेको छ।
भद्रकालीदेखि सिंहदरबार सडक खण्डको पैदलमार्गमा मात्र ११ वटा कुर्सी राखिएका थिए। यसका अतिरिक्त बागमती नदी करिडोर, गुह्येश्वरी, कोटेश्वर, कालमोचनलगायत स्थानमा पनि सार्वजनिक कुर्सीहरू स्थापना गरिएका छन्।
महानगरको भनाइमा, देखिएको ‘हटाइँ’ वास्तवमा सहरलाई थप व्यवस्थित र मानवीय बनाउने प्रक्रियाको एक हिस्सा मात्र हो।


