

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले संयोजक पुष्पकमल दाहाल प्रचण्डले एकलौटी निर्णय गर्दै गए पार्टी फुट्ने चेतावनी दिएका छन्। आज बिहान सामाजिक सञ्जालमार्फत उनले माओवादी केन्द्र र एकीकृत समाजवादीबिच एकीकरण घोषणा भएको लामो समय नेकपाको नेतृत्वदायी कमिटी नै नबनाउने र संस्थागत निर्णय प्रक्रिया विकसित नहुँदा पार्टी फुटतर्फ जाने चेतावनी दिएका हुन्।

कतिपय निर्णय एकैचोटी सार्वजनिक सञ्चार माध्यमबाट थाहा पाउनु आश्चर्यजनक घटनाहरू भएको भन्दै उनले पार्टीलाई संस्थागत ढंगले अगाडि बढाउन जोड दिए। उनले वरिष्ठ नेताहरू माथि स्पष्टीकरण दिने मौका पनि नदिकन पार्टीबाट निष्कासन गर्ने, अन्य पार्टीबाट आउने नेताहरूको संस्थागतरूपमा जानकारीसम्म नदिने गरेको भन्दै आपत्ति जनाए।
पूर्वप्रधानमन्त्री खनालले जनता र राष्ट्रले सम्पूर्ण देशभक्त, लोकतान्त्रिक, प्रगतिशील र सच्चा कम्युनिष्टहरू बीच नीतिनिष्ठ र दरो एकताको माग गरिरहेको बताए।



