Aamsanchar

रास्वपाले रविको क्रेज घट्दै गएपछि पार्टीको साख जोगाउन मात्रै बालेनलाई भित्र्यायाे :कांग्रेस

Author Image
बुधवार, माघ २८, २०८२

काठमाडौं – नेपाली कांग्रेसले सामाजिक सञ्जालमा चर्चा गरे जस्तो अवस्था भूगोलमा नरहेको दावी गरेको छ । आज काठमाडौं अनामनगरमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले चुनावी माहोलको विश्लेषण गर्दै यस्तो निष्कर्ष सुनाएका हुन् ।

 

कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको रुपमा अघि सारेको पृष्ठभूमिमा सञ्चारकर्मीले बालेन शाहको लोकप्रियतालाई कत्तिको चुनौती ठान्नु हुन्छ ? भनेर सोधेका थिए । जवाफमा उनले ‘सामाजिक सञ्जाल र वास्तविकबीच धेरै भिन्नता रहेको’ बताएका हुन । चालिसेले रास्वपा सभापति रवि लामिछाने र बालेनको सहकार्य लामो समय नटिक्ने ठोकुवा समेत गरेका छन् ।

 

‘रवि र बालेनको जुन प्रसंग छ, उनीहरूको रहरले गठवन्धन बनेको होइन’, उनले भने, ‘यो त गराइएको गठनवन्धन हो, यसको भर छैन, केही समयमै नतिजा हामीले देखिहाल्छौं ।’ रास्वपाले रविको क्रेज घट्दै गएपछि पार्टीको साख जोगाउनको लागि मात्रै बालेनलाई पार्टीमा भित्र्याएको चालिसेको ठहर छ ।

 

‘सहकारी ठगीमा मुछिएर एउटाको आकर्षण घटेपछि अर्कोलाई ल्याएर राखिएको मात्र न हो, त्यो पार्टीको के कुरा गर्नु’, उनले सुनाए । उता, सभापति थापाले निर्वाचनपछि कांग्रेसको नेतृत्वमा सरकार बनेमा प्रत्येक महिना प्रधानमन्त्रीले आफ्नो रिर्पोट बुझाउनु पर्ने व्यवस्थाको थालनी गर्ने घोषणा गरेका छन् । प्रतिनिधिसभा निर्वाचनमा सर्लाही–४ बाट उठेका उनले स्थानीय मतदातासँग कुराकानी गर्दै अब पुरानो प्रवृतिले मुलुक नचल्ने बताए ।

चुनाव जितेर काठमाडौँ जाने जनप्रतिनिधि पाँच वर्षपछि मात्र गाउँ फर्किएको उदाहरण सुनाउँदै भने, ‘अब फागुन २१ मा चुनाव हुन्छ, चैत पहिलो हप्ता नयाँ सरकार बन्छ, अनि बन्ने प्रधानमन्त्रीले पाँच वर्षको लागि होइन, एक महिनामा के के काम गर्ने हो, त्यो लिस्ट देखाउनु पर्छ, अनि बैशाख १ गते जनतालाई सम्बोधन गर्दै रिर्पोट देखाउनु पर्छ, त्यसैगरी जेठ १ गते अर्को महिनाको रिर्पोट लिएर जनताको नाममा सम्बोधन गर्नुपर्छ, प्रत्येक महिना प्रधानमन्त्रीले आफ्नो मासिक कामको रिर्पोट बुझाउनु पर्छ ।’

सभापति थापाले एक जना व्यक्तिले देशमा चमत्कार गर्नसक्छ भन्ने कुरामा आफूलाई विश्वास नभएको बताएका छन् । आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ का मतदातासँगको छलफलमा अहिलेको चुनावमा एजेण्डा छाडेर प्रधानमन्त्री को बन्ने भन्नेमा केन्द्रित भएको बताए ।

उनले भने, ‘म सहमतिको राजनीतिमा विश्वास गर्छु । त्यसैले म एक जनाले चमत्कार गर्न सक्छ भन्ने कुरा मान्दिनँ । अहिले यसपालिको चुनाव चाहिँ दुर्भाग्य कस्तो भई दियो भने विषयवस्तुमा छलफल छैन, के गर्न खोजेको भन्ने कुरा छैन । को प्रधानमन्त्री बन्ने ? को कस्तो देखिने ? कसले कस्तो लाउने ? कसले कस्तो हिँड्ने ? भनेको जस्तो विषयवस्तु तिर गयो। जसले गर्दा हाम्रा छलफल, मुद्दाहरू सबै कुरा गौण बनेको छ ।’

Views: 83

प्रतिक्रिया (०)

सम्बन्धित खबर