Aamsanchar

बालेन शाहको क्रेज तीव्र रूपमा बढेपछि रक्षात्मक अवस्थामा ओली !

Author Image
सोमवार, फागुन ४, २०८२

झापा – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिनिधि सभा निर्वाचन अन्तर्गत आफ्नो निर्वाचन क्षेत्रका असन्तुष्ट पक्षलाई फकाउने प्रयासमा जुटेका छन् । सोही निर्वाचन क्षेत्रमा उम्मेदवार रहेका रास्वपाका वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहको क्रेज तीव्र रूपमा बढेपछि रक्षात्मक अवस्थामा पुगेका ओली रणनीति फेर्न विवश बनेका हुन् ।

यसअघिका निर्वाचनहरूमा ठाउँ–ठाउँमा चुनावी सभा गरेर आफ्ना कुरा राख्ने गरेका ओली अहिले भने मतदाताका घर–घरमा पुग्न थालेका छन् । आफ्ना केही समर्थक लिएर उनी विभिन्न टोल केन्द्रित चुनावी गतिविधिमा सामेल हुँदै मतदातासँग प्रत्यक्ष भेटघाट गर्ने र उनीहरूका गुनासो सुन्न थालेका छन् । यसअघि सिङ्गो पार्टीको चुनावी कमाण्ड आफैँले सम्हालेर देशका विभिन्न क्षेत्रमा चुनावी कार्यक्रममा सहभागी हुने गरेका ओलीले आफ्नो निर्वाचन क्षेत्रमा खासै समय दिँदैनथे । अहिले भने उनी आफ्नै निर्वाचन क्षेत्रमा बढी केन्द्रित देखिएका छन् ।

प्रश्नको घेरामा ओली

ओली मतदाताको घर–घरमा पुग्दा उनीमाथि विभिन्न प्रश्न तेर्सिने गरेका छन् । मतदाताले पटक–पटक भोट दिएर जिताए पनि समुचित विकास हुन नसकेको, विभिन्न समस्या पर्दा भेटेर सुनाउन नपाएको लगायतका विषयमा ओलीलाई प्रश्न सोध्ने गरेका छन् । आइतबार ओलीले शिक्षकहरूको भेलामा पुगेर उनीहरूको कुरा सुने । शिक्षकहरूले ओलीलाई आफूहरूको आन्दोलन दबाएको, माग पूरा नगरेको लगायतका विषयमा गुनासो राखेका थिए ।

त्यसबारेमा जबाफ दिँदै ओलीले भने, ‘त्यो आन्दोलनका बेला कतिपय माग पूरा गर्न सकिने थियो, कतिपय तत्काल पूरा हुने खालका थिएनन् । वार्ता गरौँ, सहमति गरेर निष्कर्ष निकालौँ भन्दा प्रधानमन्त्रीसँग वार्ता नै नगर्ने, जे लेखेको छ त्यो भन्दा दायाँ–बायाँ गर्दै गर्दैनौँ भन्दै तपाईंहरूको नेता वार्तामै नआउने, शिक्षामन्त्रीको राजीनामा गराउन सफल भएको भन्दै हिँड्ने ! शिक्षामन्त्रीको राजीनामा गराएर शिक्षकहरूको माग पूरा भयो त ?’

कम्तीमा त्यसबेला केही सहमति भएको भए अहिले त्यसको लाभ त शिक्षकहरूले नै लिइसकेका हुन्थे भन्ने ओलीको तर्क थियो । ‘खैर, फेरि पनि केही बितेको छैन, शिक्षा ऐन तयारी अवस्थामा छ । शिक्षकहरूका अधिकांश मागसमेत त्यसले सम्बोधन गर्छ । त्यस बाहेकका पूरा गर्न सकिने मागका बारेमा फेरि छलफल गरेर निर्क्यौल निकाल्नु पर्छ । हामी अहिले फागुन २१ को अभियानमा छौँ । यसमा तपाईंहरू सकारात्मक ढंगबाट लागिदिनुस्,’ शिक्षकहरूसँग सहयोगको याचनासहित ओलीले भने ।

यसपछि धिमालहरूको भेलामा गएर ओलीले ‘धिमाल जातीको विकास, संरक्षण, सम्बर्द्धन र प्रवर्द्धन गर्ने काम कसले गर्यो ? धिमाल जाती यो भूगोलको इतिहास हो भनेर प्रथम नागरिक कुन सरकारको पालामा भयो ? धिमालहरूको सङ्ग्रहालय बनाउन भन्दै आवश्यक बजेट कुन सरकारको पालामा भयो ? अनि अहिले नगरपालिका अगाडि बनाइएको धिमालको सालिक कसले भत्कायो ?’ भन्दै प्रश्न गरे ।

यो चुनाव देश भत्काउने, डढाउने र खरानी पार्नेसँग देश बनाउने, विकासलाई नयाँ दिशामा लैजाने र निकास दिने बिचको लडाइँ रहेको ओलीको भनाइ थियो । ‘त्यसैले कुन तत्वलाई रोज्ने, त्यही अनुसार चुनावी अभियानमा लाग्नुहोस्,’ ओलीले धिमालहरूलाई आग्रह गरे । यसपछि साँझ दमकका मुस्लिम समुदायका अगुवा भेलामा पुगेर ओलीले जात, धर्म, सम्प्रदाय लक्षित मानसिकताबाट माथि उठ्न आग्रह गरे । मुस्लिम समुदायले ओली समक्ष मदरासामा पढाई हुने शिक्षालयहरूमा पछिल्लो समय शिक्षक दरबन्दी कटौती गरिएको गुनासो गरेका थिए । यो समुदायको दाह संस्कार गर्ने स्थानको अभाव भएको र नेतृत्व तहमा मुस्लिम समुदायलाई समेत समानुपातिक रूपमा सहभागी गराउन मुस्लिम अगुवाले माग राखेका थिए ।

जबाफमा ओलीले मुस्लिम समुदायले राखेका सबै माग समय सान्दर्भिक रहेको भन्दै यसलाई सम्बोधन गर्न तयार रहेको बताए । ओली सोमबार पनि दमकमा आयोजित विभिन्न कार्यक्रम तथा भेलामा सहभागी हुने तालिका छ । दमकको वडा नम्बर १, २, ३, ५, ६ र ७ नम्बर वडामा आयोजना हुने ६ वटा छुट्टाछुट्टै कार्यक्रममा उहाँ सहभागी बनेर मतदातासँग प्रत्यक्ष संवाद गर्ने जनाइएको छ । फागुन ६ गतेसम्म आफ्‌नो निर्वाचन क्षेत्रमा रहने ओली अहिले प्रत्यक्ष रूपमा मतदाताका कुरा सुन्ने र आफ्‌ना कुरा राख्ने काममा व्यस्त छन् ।

 

Views: 25

प्रतिक्रिया (०)

सम्बन्धित खबर