Aamsanchar

बालेन आज बिहानैदेखि घरदैलो अभियानमा

Author Image
सोमवार, फागुन ४, २०८२

दमक – राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का तर्फबाट झापा क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य उमेदवार बालेन्द्र शाह (बालेन) आज बिहानैदेखि घरदैलो अभियानमा छन् । आइतबार झापा आइपुगेका उनी सोमबार बिहानैदेखि दमकसहित क्षेत्रका विभिन्न बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष भेट गरिरहेका छन् । घरदैलो अभियानमा बालेनले मतदाताका गुनासा, सुझाव र अपेक्षा सुन्ने तथा आफ्ना चुनावी एजेन्डा प्रस्तुत गरिरहेका छन् । रास्वपाका क्षेत्रीय सभापति भेषराज भट्टराईका अनुसार उमेदवार शाहले विकास, सुशासन, पारदर्शिता विषयलाई मुख्य एजेन्डाका रूपमा अघि सारेका छन् ।

“उहाँले प्रत्येक घरमा पुगेर नागरिकका समस्या प्रत्यक्ष रूपमा बुझ्ने प्रयास गरिरहनुभएको छ,” भट्टराईले भने, “मतदाताले राखेका स्थानीय पूर्वाधार, स्वास्थ्य, शिक्षा र रोजगारीसँग सम्बन्धित विषयलाई उहाँले गम्भीरतापूर्वक सुन्नुभएको छ ।” उमेदवार शाहले संघीय सांसदको भूमिकालाई प्रभावकारी बनाउँदै स्थानीय आवश्यकतालाई संघीयस्तरमा जोडदार रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ ।

भट्टराईका अनुसार बालेनले आज दिनभर झापा–५ अन्तर्गतका विभिन्न टोल तथा बस्तीमा घरदैलो कार्यक्रम सञ्चालन गर्नेछन् । प्रतिनिधिसभा निर्वाचनका लागि झापा–५ मा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी २४ जना उमेदवार चुनावी मैदानमा छन् ।

Views: 44

प्रतिक्रिया (०)