

काठमाडौँ – मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२ सुकौराबेसीस्थित कुलेखानी-फाखेल-काठमाडौँ सडकमा स्कारपियो दुर्घटना हुँदा चारजना घाइते भएका छन्।

वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना ४ च ९७७७ नम्बरको स्कारपियो शनिबार बिहान ६ बजे अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा बारा कलैया उपमहानगरपालिका–२ का ३८ वर्षीय चालक विजय यादव, कलैया उपमहानगरपालिका- ७ बरेवा बस्ने ५० वर्षीय सन्तोषकुमार गुप्ता, उनकी श्रीमती ४० वर्षीया शोभा गुप्ता र १६ वर्षीय छोरा अनमोल गुप्ता घाइते भएका छन्।

दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी फाखेलबाट प्रहरी सहायक निरीक्षक कमल खत्रीको नेतृत्वमा पाँच जनाको टोली घटनास्थल पुगेको थियो। स्थानीयवासीको सहयोगमा घाइतेहरुको उद्धार गरी उपचारका लागि एम्बुलेन्सबाट काठमाडौँ ल्याइएको छ। तीमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।


