प्रेस टिभीलगायत केही इरानी सरकारी सञ्चारमाध्यमहरूले अमेरिका र इजरायलको संयुक्त आक्रमणमा सर्वोच्च नेता आयातोल्लाह अली खामेनेई मारिएको दाबी गरेका छन्। यद्यपि उनको स्थानमा नयाँ सर्वोच्च नेताको औपचारिक घोषणा भने अझै गरिएको छैन।

खामेनेईको सम्भावित अनुपस्थितिले इरानको शक्ति संरचनाबारे अनेक प्रश्न उठाएको छ। इरानको राजनीतिक प्रणालीमा सर्वोच्च नेता नै अन्तिम निर्णयकर्ता हुने भएकाले सैन्य कारबाही जारी राख्ने वा रोक्ने विषयमा कसले निर्णय गर्छ भन्ने चासो बढेको छ। हाल इरानले अमेरिका र इजरायलविरुद्ध कडा प्रतिकार जारी राखेको दाबी गरिरहेको छ।

विश्लेषकहरूका अनुसार खामेनेईको मृत्यु पुष्टि भएमा ८८ जना वरिष्ठ धर्मगुरुहरूको निर्वाचित निकाय ‘एसेम्बली अफ एक्सपट्र्स’ले नयाँ सर्वोच्च नेता चयन गर्ने संवैधानिक व्यवस्था छ। यसअघि केही प्रभावशाली धार्मिक नेताहरू सम्भावित उत्तराधिकारीका रूपमा चर्चामा आएका थिए।
यस घटनाक्रमले इरानमा सत्ता परिवर्तन भई पश्चिमा समर्थक सरकार बन्ने सम्भावना देखिएको भन्ने अड्कलबाजी पनि सुरु भएको छ। तर हालको अवस्थामा नेतृत्व चयन प्रक्रिया र क्षेत्रीय सुरक्षाको दिशा दुवै अनिश्चित बनेका छन्।



