Aamsanchar

हर्क साम्पाङ जित नजिक

Author Image
आइतवार, फागुन २४, २०८२

सुनसरी – सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका उम्मेदवार हर्क साम्पाङ जित नजिक पुगेका छन्। हालसम्मको मतगणनाको परिणाम अनुसार साम्पाङले उल्लेख्य अग्रता कायम राख्दै अन्य प्रतिस्पर्धीलाई पछाडि पारिरहेका छन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्मको मतगणनामा श्रम संस्कृति पार्टीका हर्क साम्पाङले ३१ हजार २ सय ४७ मत प्राप्त गरेका छन्। उनलाई पछ्याइरहेकी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०की उम्मेदवार गोमा तामाङले १६ हजार ९ सय ८ मत ल्याएकी छन्।

यस्तै नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार मनोज भट्टराईले ५ हजार ३ सय १६ मत प्राप्त गरेका छन्।नेकपा एमालेका उम्मेदवार टिकाराम लिम्बूले ४ हजार १८ मत ल्याएका छन् । नेपाली कांग्रेसका उम्मेदवार सुजेन्द्र गोलेले २६ हजार ९ सय ८ मत प्राप्त गरेका छन्।

धरान उपमहानगरपालिकाका मेयरबाट राजीनामा दिएर साम्पाङ यस पटक प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा उत्रिएका हुन्। उनको लोकप्रियता र स्थानीय मुद्दामाथिको सक्रियताका कारण मतदाताबाट उल्लेख्य समर्थन मिलिरहेको देखिएको छ।

अहिले धरानका २० वडाको मत गणना सकिएको छ । अब बराहक्षेत्र नगरपालिकाको १ देखि ५ र रामधुनी नगरपालिकाको ६ र ७ नम्बर वडाको मत गणना हुन बाकी रहेको छ । अहिलेको परिणामलाई हेर्दा हर्क साम्पाङको जित लगभग सुनिश्चित जस्तै देखिएको छ ।

Views: 111

प्रतिक्रिया (०)

सम्बन्धित खबर