

काठमाडौं – प्रतिनिधिसभा अन्तरगत प्रत्यक्षतर्फको अन्तिम मत परिणाम आउन ४ क्षेत्रको मात्रै बाँकी छ।

जारी मतगणनामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली प्रत्यक्षतर्फ १६१ स्थानको नतिजा सार्वजनिक भइसकेको छ। जसमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा १२४ निर्वाचन क्षेत्रमा विजयी भएको छ।
जारी मतगणनामा रास्वपा एक निर्वाचन क्षेत्रमा अग्रस्थानमा छ गोरखा क्षेत्र नम्बर १ मा रास्वपाको अग्रता रहेको हो। त्यहाँ अब करिब १५ हजार मत गणना बाँकी रहेको छ।

६४ हजार मत खसेकोमा ४७ हजारभन्दा धेरै गणना भइसहेको छ। त्यहाँ अब गोरखा नगरपालिकाका ७ वडा र गण्डकी गाउँपालिकाको एउटा बुथको गणना बाँकी रहेको गोरखा-१ का मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिए। आज साँझसम्म प्रत्यक्षतर्फको नतिजा सार्वजनिक हुने उनको भनाइ छ।
जस अनुसार अहिले रास्वपाका उम्मेदवार सुधन गुरुङले २१ हजार ५ सय ५० मत पाएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका प्रेमकुमार खत्रीले १२ हजार ६०० मत पाएका छन्। नेकपाका हरिराज अधिकारीले ८ हजार १ ६८ मत पाउँदा एमालेका रामचन्द्र लामिछानेले २ हजार ८ सय मत पाएका छन्।
यसैगरी इलाम (१ मा कांग्रेसका निष्कल राई र श्रम संस्कृति पार्टीका विनोद नेम्बाङबीच कडा प्रतिस्पर्धा भइरहेको छ। राईले ११ हजार ८ सय ६१ मत पाउँदा नेम्बाङले ११ हजार ४ सय ८८ मत पाएका छन्। यसैगरी एमालेका काजीमान कागतेले १० हजार ७ सय ६२ मत पाएका छन्।
त्यहाँ अब सूर्योदय नगरपालिकाका ५ वटा वडाको १० हजार मत गन्न बाँकी रहेको इलाम(१ का निर्वाचन अधिकृत खुमप्रसाद भण्डारीले जानकारी दिए। उनका अनुसार कुनै अवरोध नभए आज दिनभरमा प्रत्यक्षतर्फको गणना सकिने जनाए।
यसैगरी संखुवासभा जिल्लाको मतगणना पनि जारी रहेको छ। त्यहाँ नेकपा एमालेका उम्मेदवार डाक्टर अर्जुन कार्कीले अग्रता बनाएका छन्। उनले १० हजार ८ सय ३२ मत पाउँदा रास्वपाका मिङ्मा शेर्पाले ९ हजार ९ सय ६७ मत प्राप्त गरेर पछ्याइरहेका छन्।
अब २० हजार मत गन्न बाँकी रहेको त्यहाँका प्रमुख निर्वाचन अधिकृत राजकुमार कोइरालाले जानकारी दिए। उनका अनुसार अब खाँदबारी नगरपालिका र चिचिला गाउँपालिकाको मत गन्न बाँकी रहेको छ।
धनुषा (१ को भने मतपरिणाम सार्वजनिक भएको छैन। रास्वपाका किशोरी साह कमलको उम्मेदवारी खारेज भइसकेको छ। खारेज भएको उम्मदेवारले अत्यधिक मत पाएपछि त्यहाँको मतगणना परिणाम निर्वाचन आयोगले सार्वजनिक गरेको छैन।
उनले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन्। धनुषा १ का निर्वाचन अधिकृत मनोज बरालले सर्वोच्चको आदेश आएपछि परिणाम सार्वजनिक हुने बताए।
पछिल्लो परिणाम अनुसार नेपाली कांग्रेसले १७ निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ। नेकपा एमाले ८ स्थान विजयी भएको छ। नेपाली कम्युनिष्ट पार्टी ७, श्रम संस्कृति पार्टी तीन, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार एक–एक स्थानमा विजयी भएका छन्।
यस्तै समानुपातिकतर्फको मतगणना जारी छ। हालसम्म ८२ लाखभन्दा बढी मत गणना हुँदा रास्वपाले ३९ लाख मत पाएको छ। उसलाई पछ्याएको नेपाली कांग्रेसले १३ लाख तथा एमालेले ११ लाख मत पाएका छन्। यस्तै नेकपाले ५ लाख ७९ हजार, श्रम संस्कृति पार्टीले २ लाख ८७ हजार, राप्रपाले २ लाख ७२ हजार मत पाएका छन् ।


