बिर्तामोड । झापाको गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीमाथि घरमै पुगेर एक युवकले कुटपिट गरेको घटना सार्वजनिक भएको छ। मादक पदार्थ सेवन गरेका ती युवकले विवाद गर्दै मेयर सुवेदीमाथि हातपात गर्दा उनी सामान्य घाइते भएका छन्।

प्रहरीका अनुसार गौरादह नगरपालिका–५ राजपति चोक, चप्रामारीका ३४ वर्षीय भीष्म सिटौलाले मादक पदार्थ सेवन गरी मेयर सुवेदीको घरमै पुगेर गालीगलौजसहित हातपात गरेका हुन्।

मेयर सुवेदीले सिटौला एक्कासि घरमा आएर विवाद सुरु गरेको र त्यसक्रममा आफूमाथि कुटपिट गरेको बताए। “अचानक घरमै आएर विवाद गर्न थाले, त्यसपछि हातपातसम्म पुगे,” सुवेदीले भने।
प्रहरीका अनुसार सिटौला केही समय जापान बसेर हालै स्वदेश फर्किएको व्यक्ति हुन्। घटनाबारे जानकारी पाएपछि प्रहरी चौकी महारानीझोडाबाट प्रहरी सहायक निरीक्षक चन्द्रबहादुर कार्कीको कमान्डमा खटिएको टोलीले सिटौलालाई नियन्त्रणमा लिएको छ।

हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सुवेदी नेकपा (एमाले) बाट गौरादह नगरपालिकाको मेयरमा निर्वाचित भएका हुन्।


