

काठमाडौं – फागुन २१ को प्रतिनिधिसभा निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फको परिणाम अन्तिम चरणमा पुग्दै गर्दा समानुपातिकतर्फको मतगणना समेत जारी छ । समानुपातिकतर्फ अब आठ निर्वाचन क्षेत्रको मात्र मतगणना बाँकी रहेको निर्वाचन आयोजले जनाएको छ ।

संखुवासभा, इलाम–१, अछाम–२, बाजुरा, गोरखा–१ र २, धनुषा–१ र २ मा मात्रै समानुपातिकको मत गणना शुरु हुन बाँकी रहेको आयोगले जनाएको छ । हालसम्म धनुषा–३, महोत्तरी–१, सर्लाही–२, बारा १, २, ३ र ४, रौतहट १, पर्सा १, २ र ४ को मतगणना सकिएको छ ।
रसुवा, सिन्धुली–१ र २, दोलखाको मतगणना सकिएको छ । यस्तै, कञ्चनपुर–१, २ र ३, दार्चुला, डडेल्धुरा, बझाङ, डोटी, कैलाली १मा मतगणना सकिएको छ । यस्तै, ताप्लेजुङ, धनकुटा, झापा ३, मोरङ २, ३, ४ र ६, सुनसरी–३, तेह्रथुम, उदयपुर–२ को पनि मतगणना सकिएको छ ।

त्यस्तै गुल्मी–१, रोल्पा, रुकुम पश्चिम, बाँके–१, २ र ३, अर्घाखाँची, कपिलवस्तु–२, दाङ २ र ३, पर्वत, तनहुँ, कास्की, लमजुङ, नवलपरासी पूर्व १ र २, मुस्ताङ, म्यादी, स्याङ्जा–१, मनाङ, बाग्लुङ, काठमाडौँ १ देखि १० का सबै, भक्तपुर १ र २, ललितपुर १ र ३ मा पनि मतगणना सकिएको छ ।
समानुपातिकतर्फ हालसम् ८३ लाख ६ हजार ६९६ मत गणना सकिएको छ । प्रत्यक्षतर्फ अहिलेसम्म १२४ सिटमा जितेको रास्वपाले अहिलेसम्म समानुपातिकतर्फ ४१ लाख १७ हजार २७८ मत पाएको छ । प्रत्यक्षतर्फ १७ सिटमा जित निकालेको नेपाली कांग्रेसले समानुपातिकमा १३ लाख ८२ हजार ३४२ मत पाएको छ ।
प्रत्यक्षमा अहिलेसम्म आठ सिट जितेको एमालेले समानुपातिकतर्फ ११ लाख ६५ हजार १५ मत प्राप्त गरेको छ । प्रत्यक्षमा सात सिट जितेको नेकपाले अहिलेसम्म समानुपातिकतर्फ ६ लाख तीन हजार ७८५ मत पाएको निर्वाचन आयोगले जनाएको छ । त्यस्तै प्रत्यक्षमा तीन सिट जितेको हर्क राई नेतृत्वको श्रम संस्कृति पार्टीले अहिलेसम्म समानुपातिकमा दुई लाख ९७ हजार ५९८ मत पाएको छ भने राजावादी दलको रुपमा चिनिएको राप्रपाले अहिलेसम्म दुई लाख ८० हजार ४५८ मत मत पाएको छ ।
अहिलेसम्मको मत परिणाम अनुसार मधेसवादी कुनै पनि दलले समानुपातिकतर्फको थ्रेसहोल्ड कटाउने अवस्था देखिएको छैन । जसपाले अहिलेसम्म एक लाख २९ हजार ३३४ मत मात्रै पाएको छ । यस्तै राष्ट्रिय परिवर्तन पार्टीले पनि एक लाख २३ हजार ७९० मत पाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा सदस्यको निर्वाचनमा समानुपातिकतर्फ थ्रेसहोल्ड कटाइसकेका छन् । श्रम संस्कृति पार्टी भने थ्रेसहोल्ड नजिकै छ । निर्वाचन आयोगका अनुसार समानुपातिक तर्फ एक करोड नौं लाख मत खसेको थियो । समानुपातिकतर्फ सिट पाउन खसेको मतमध्ये सदर मतको ३ प्रतिशत मत कटाउनु पर्छ । समानुपातिकतर्फ सिट पाउन कूल सदर मतको ३ प्रतिशत मत कटाउनु पर्ने संवैधानिक व्यवस्थालाई नै थ्रेसहोल्ड भनिन्छ।
२७५ सदस्यीय प्रतिनिधिसभामा ११० जना समानुपातिक निर्वाचन प्रणालीमार्फत चुनिन्छन् । १६५ जना भने प्रत्यक्ष निर्वाचित हुन्छन् । प्रत्यक्षतर्फको मतगण मैजारोतिर पुगेको छ । समानुपातिकतर्फको मतगणना सकिएपछि थ्रेसहोल्ड पार गरेका दलहरूले प्राप्त गरेको मतका आधारमा आयोगले सम्बन्धित दलको तर्फबाट निर्वाचित हुने सांसदको संख्या निर्धारण गर्छ । निर्धारित संख्यामा समानुपातिक कलष्टर अनुसारको प्रतिनिधित्व हुने गरी निर्वाचित हुने सांसदको नाम सिफारिस गर्न राजनीतिक दलहरूलाई पत्राचार गर्नेछ ।


