

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जिल्ला प्रहरी कार्यालय सुनसरीस्थित सञ्चार शाखामा कार्यरत तत्कालीन प्रहरी सहायक निरीक्षक (असइ)मुक्त नारायण श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले श्रेष्ठविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

नक्कली प्रमाणपत्रका आधारमा पदोन्नति लिई सरकारी लाभ तथा सुविधा लिएको ठहर गर्दै श्रेष्ठविरुद्ध भ्रष्टाचारसम्बन्धी कसुरमा विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ।
प्रहरी सहायक निरीक्षक पदमा बढुवा लिन शैक्षिक योग्यताका झुट्टा तथा नक्कली प्रमाणपत्र पेश गरी पदोन्नति हासिल गरेको र नेपाल सरकारबाट निवृत्तभरणसहित विभिन्न हैसियत,लाभ तथा सुविधा लिएको आरोप लगाइएको छ।

आयोगका अनुसार बढुवाका लागि श्रेष्ठले पेश गरेका शैक्षिक योग्यतासम्बन्धी प्रमाणपत्र नक्कली रहेको भन्दै उजुरी परेको थियो। सोही उजुरीका आधारमा गरिएको अनुसन्धानका क्रममा उनले बढुवाका लागि भारतको केन्द्रीय माध्यमिक शिक्षा बोर्डबाट जारी भएको भन्दै झुट्टा तथा नक्कली प्रमाणपत्र पेश गरेको पुष्टि भएको आयोगले जनाएको छ।


