Aamsanchar

धनकुटा अस्पताल हस्तान्तरणमा बहस : विकास कि ऐतिहासिक पहिचानको चुनौती ?

Author Image
आइतवार, चैत ८, २०८२

धनकुटा ।  धनकुटा अस्पतालको भविष्यलाई लिएर यतिबेला स्थानीय स्तरमा बहस चर्किएको छ। कोशी प्रदेश सरकारले अस्पताललाई मनमोहन प्राविधिक विश्वविद्यालय अन्तर्गत शिक्षण अस्पतालका रूपमा विकास गर्ने प्रक्रिया अघि बढाएपछि विकास र पहिचानबीच सन्तुलनको प्रश्न उठेको हो।

सरकारले अस्पताल हस्तान्तरणसँगै बीएस्सी नर्सिङ कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको छ। चिकित्सा शिक्षा आयोगको मापदण्डअनुसार पाठ्यक्रम तयार भइसकेको बताइएको छ। यस कदमलाई कतिपयले स्वास्थ्य सेवामा सुधार ल्याउने अवसरका रूपमा लिएका छन् भने कतिपयले ऐतिहासिक पहिचान हराउने जोखिम औंल्याएका छन्।

अन्तरक्रिया कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री इन्द्रमणि पराजुली ले निर्णय जनचाहनाअनुसार भएको दाबी गरे। उनले पहाडी क्षेत्रको स्वास्थ्य सेवा सुदृढ पार्न यसले महत्वपूर्ण भूमिका खेल्ने बताए। साथै, अस्पतालको ऐतिहासिकता जोगाउन प्रदेश सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो।

प्रदेशका मुख्य सचिव राजेन्द्रकुमार रिसाल ले चालू आर्थिक वर्षदेखि नै बजेट व्यवस्थापन सुरु हुने जानकारी दिए भने विश्वविद्यालयका उपकुलपति डा. सुवासश्री पोखरेल ले यसले शिक्षा र स्वास्थ्य क्षेत्रमा नयाँ आयाम थप्ने दाबी गरे।

तर, नेपाल पत्रकार महासंघ का संस्थापक अध्यक्ष सञ्जय सन्तोषी राई लगायत सरोकारवालाले अस्पतालको सय वर्षभन्दा पुरानो इतिहास जोगाउन विशेष ध्यान दिनुपर्ने बताएका छन्।

वि.सं. १९७० मा “त्रिचन्द्र अस्पताल” नामबाट स्थापना भएको धनकुटा अस्पताल नेपालका पुराना स्वास्थ्य संस्थामध्ये एक हो। त्यसैले, अबको चुनौती विकासको गति बढाउँदै यसको ऐतिहासिक पहिचानलाई कसरी सुरक्षित राख्ने भन्नेमा केन्द्रित देखिएको छ।

Views: 23

प्रतिक्रिया (०)

सम्बन्धित खबर