

झापा – झापामा चार वर्षपछि फेरि कुखुरामा बर्डफ्लू संक्रमण देखा परेको छ। छिमेकी जिल्ला मोरङको सुन्दरहरैचामा देखा परेसँगै झापाको दमकमा बर्डफ्लू संक्रमण पुष्टि भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाकी प्रमुख शीतल भट्टराईले जानकारी दिइन्।

दमक नगरपालिका–१० स्थित दमक एग्रिकल्चर फार्ममा रहेका कुखुरामा बर्डफ्लू संक्रमण देखा परेको हो। फार्ममा कुखुराहरू मर्न थालेपछि त्यहाँका सञ्चालकले कुखुरा परीक्षणका लागि विराटनगर ल्याब पठाएको थियो। विराटनगरले केन्द्र ल्याब काठमाडौँ पठायो।
काठमाडौँ ल्याबबाट बर्डफ्लू संक्रमण पुष्टि भएको पत्र शनिवार प्राप्त भएको जानकारी गराउँदै केन्द्रकी प्रमुख भट्टराईले भनिन्, ‘आइतबार कोशी प्रदेश सरकारको रेपिड रेस्पोन्स टिम पठाइसक्यो। सो टिमले चार किल्ला तोकेर फर्मामा कति सङ्ख्यामा कुखुरा थियो, कति मर्यो त्यसको अध्ययन गरिसकेको छ। अध्ययन प्रतिवेदन प्राप्त भएपछि तुरुन्त प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बैठक बसी कुखुरा मार्न टोली परिचालन गर्छौ।’ बर्डफ्लू संक्रमण पुष्टि भएका फर्मालाई राज्यले क्षतिपूर्ति दिने व्यवस्था रहेको उनको भनाई छ।

त्यस्तै झापा गाउँपालिका–७ स्थित सुदीक्षा कृषि फार्मका कुखुरामा पनि एचवान लो प्याथोजेनिक बर्डफ्लू संक्रमण देखा परेको छ। स्थानीय दुर्गाप्रसाद भट्टराईले पालेको कुखुरामा लो प्याथोजेनिक बर्डफ्लु उपचारबाट निको हुनसक्ने भएकोले त्यसलाई त्यति गम्भीर रुपमा लिएका छैनौँ। लो प्याथोजेनिक संक्रमण देखिएकालाई राज्य क्षतिपूर्ति पनि दिँदैनन्। ‘त्यसैले ती फार्मलाई चाहिने केही आवश्यक सामग्री कार्यालयबाटै उपलब्ध गराएका छौँ,’ प्रमुख भट्टराईले थपिन्।
नेपालमै पहिलो पटक बर्डफ्लू संक्रमण झापामा फेला परेको थियो। २०६५ साल माघमा काँकडभिट्टामा बर्डफ्लू संक्रमण फेला परेको र त्यस बेला नियन्त्रणका लागि २८ हजार भन्दा बढी कुखुरा तथा चल्ला नष्ट गरिएको थियो। त्यसपछि २०६९ र २०७८ सालमा पनि बर्डफ्लू संक्रमण देखा परेको पशु सेवा विज्ञ केन्द्र झापाले जनाएको छ।


