Aamsanchar

दमकमा २५ हजार कुखुरा नष्ट गरिँदै

Author Image
मङ्गलवार, चैत १०, २०८२

झापा- दमक नगरपालिका वडा नं. १० स्थित दमक एग्रिकल्चर फार्म प्रा.. लि.मा पालिएका लेयर्स कुखुरामा बर्डफ्लु संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय झापाले प्रभावित क्षेत्रलाई संकटग्रस्त घोषणा गर्दै आवश्यक सतर्कता अपनाउन निर्देशन दिएको छ।

झापाका निमित्त प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रशाईका अनुसार संक्रमण फैलिन नदिन २० मिटर वरिपरि क्षेत्रलाई संकटग्रस्त घोषित गरी विज्ञ पशु प्राविधिक बाहेक अन्य व्यक्तिको आवतजावतमा प्रतिबन्ध लगाइएको छ।

संक्रमण फैलिन नदिन प्रभावित क्षेत्रबाट कुखुरा, अण्डा तथा अन्य पन्छीजन्य सामग्रीको ओसारपसार पूर्ण रूपमा रोकिएको छ। फार्ममा करिब २० हजार कुखुरा रहेका थिए। सञ्चालक देवेन्द्र प्रसाईका अनुसार अचानक धेरै कुखुरा मर्न थालेपछि परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको हो।

फार्ममा रहेका २० हजार र नजिकैको अर्को फार्मका ५ हजार गरी कुल करिब २५ हजार कुखुरा नष्ट गर्ने कार्य सुरु गरिएको छ। शंकास्पद कुखुरा र मरेका कुखुराको ल्याब परीक्षण पनि तीव्र पारिएको छ।

दमक नगरपालिकाका प्रमुख रामकुमार थापाका अनुसार सरोकारवाला निकायहरूसँग समन्वय गरी संक्रमित तथा प्रभावित कुखुरा नष्ट गर्ने कार्य तीव्र रुपमा अघि बढाइएको छ। सबैमा सचेतता अपनाउन अपिल गरिएको छ।

सरोकारवाला निकायबाट खटिएको प्राविधिक टोलीले खाडल खनेर कुखुरा, दाना तथा अण्डा सुरक्षित तरिकाले नष्ट गर्ने कार्य शुरु गरेको छ। भेटनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र झापाकी प्रमुख सितल भट्टराईका अनुसार तीन वटा द्रुत प्रतिक्रिया टोली यस कार्यमा खटिएको छ।

फार्म सञ्चालक देवेन्द्र प्रसाईका अनुसार बर्डफ्लु पुष्टि भएपछि कुखुरा र अण्डा बिक्री रोकिएको थियो। शनिबार–आइतबार ल्याब परीक्षणबाट संक्रमण पुष्टि भएको हो।

कुखुरा र अण्डाको व्यापारमा असर

यस घटनापछि स्थानीय बजारमा कुखुरा र अण्डाको व्यापार घटेको छ। उपभोक्तामा त्रास फैलिएपछि बिक्री प्रभावित भएको व्यवसायीहरूले बताएका छन्।

कुखुराजन्य परिकार राम्रोसँग पकाएर खाइने भएकाले मानिसमा संक्रमणको जोखिम न्यून रहेको भए पनि भ्रमका कारण व्यापार घटेको छ। कुखुरा उत्पादक भरत चम्लागाईले कुखुरा व्यवसायमा ठुलो लगानी रहेको हुँदा भ्रम हटाउन सबैको सहयोग आवश्यक रहेको जानकारी दिनुभएको छ।

Views: 19

प्रतिक्रिया (०)

सम्बन्धित खबर