Aamsanchar

चैते दसैंमा प्रसिद्ध शक्तिपीठ कालिका मन्दिरमा भक्तजनको भीड

Author Image
बुधवार, चैत ११, २०८२

बागलुङः गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका मन्दिरमा भक्तजनको भीड बढेको छ। चैते दसैंको नवदुर्गा सुरु भएयता क्रमश मन्दिरमा दर्शन गर्न आउनेको संख्यामा उल्लेख्य वृद्धि भएको छ भने हिजोदेखि चैते दसैं मेला पनि सुरु भएको छ।

कालिका मन्दिरमा वडा दसैँको तुलनामा चैते दसैँमा बढी भक्तजन आउने गरेको र यसपटक भक्तजनको संख्या बढी देखिएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्र खड्काले जानकारी दिए। शुक्रबारदेखि नवदुर्गा यात्रा सुरु भएको र यात्रा नवमीसम्मै मन्दिरमा पूजा आजाका लागि आउने गरेका छन्। चैते दसैंमा अष्टमीलाई सबैभन्दा बढी उत्तम मानिन्छ। यसवर्षको चैते दसैँको मुख्य दिन चैत १२ गते बिहीबार परेको छ।

तीन सय वर्षभन्दा पहिलेदेखि मन्दिर परिसरमा चैते दसैंको अवसरमा मेला लाग्दै आएको छ। यस मन्दिरमा गुठीले व्यवस्थापन गरेसँगै व्यापारिक स्टल, रमाइलो मेलालगायतका संरचना निर्माण गरेर मङ्गलबारबाट मेला आयोजना गरेको हो।

देशभरबाट भक्तजन तथा आन्तरिक पर्यटक आउनेक्रम जारी छ। मन्दिर परिसरमा लाग्ने मेलालाई विशेष पर्वका रूपमा लिने गरिन्छ। चैते दसैंको प्रतिपदादेखि राम नवमीसम्म करिब १० लाख भक्तजन आउने अनुमान गरिएको छ। यस अवसरमा विभिन्न गाउँ तथा जिल्लाबाट आउने भक्तजनका लागि मेला, स्टल र आवासको व्यवस्था मिलाइएको छ।

मेलाका अवसरमा कालिका कप खुला पुरुष तथा महिला भलिबल प्रतियोगिता तथा छेलो प्रतियोगिता आयोजना गरिएको छ। मेलामा सांस्कृतिक कार्यक्रमसमेत हुनेछ। मेलामा गाउँबाट किसानहरूले वर्षभरि तयार पारेका काठ, ठेका, बाँसुरी तथा बाँस र निगालोका सामग्री बिक्रीका लागि ल्याउने गरेका छन्।

विसं १५९१ देखि यस मन्दिरमा पूजा हुँदै आएको छ। किंवदन्तीअनुसार पर्वतका राजा प्रतापी नारायण मल्लले पाल्पाका राजा मणिमुकुन्द सेनकी राजकुमारी विश्वदेवीसँग विवाह गर्दा कालिका देवीलाई साथमा ल्याई यहाँ स्थापना गराएको जनविश्वास रहिआएको छ।

Views: 16

प्रतिक्रिया (०)

सम्बन्धित खबर