काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को नेतृत्वमा गठित नयाँ सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले गरेका चार वटा मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार बसेको बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेल लाई सरकारका प्रवक्तामा नियुक्त गर्ने निर्णय गरेको छ ।

बैठकपछि निर्णय सार्वजनिक गर्दै प्रवक्ता पोखरेलले गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ तथा यसअघि भएका विभिन्न आन्दोलनमा वीरगति प्राप्त गर्ने सम्पूर्ण ज्ञात–अज्ञात शहीदहरूप्रति भावपूर्ण सम्मान तथा हार्दिक श्रद्धाञ्जली अर्पण गर्ने निर्णय गरिएको जानकारी दिए ।
त्यसैगरी, सरकारले शासकीय सुधारका लागि तयार पारिएको ‘१०० कार्यसूची’ स्वीकृत गरेको छ । उक्त कार्यसूची छिट्टै सार्वजनिक गरिने जनाइएको छ ।

यस्तै, भदौ २३ र २४ गतेका प्रदर्शनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की अध्यक्षतामा रहेको आयोगले सरकारलाई बुझाएको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरिएको छ ।
आयोगले सिफारिस गरेका सुरक्षा निकायसम्बन्धी विषयमा थप अध्ययनका लागि समिति गठन गरिने र सो समितिको सिफारिसका आधारमा आवश्यक निर्णय लिइने बताइएको छ । अन्य सिफारिसहरू भने सम्बन्धित निकाय, विशेषगरी गृह मन्त्रालयमार्फत तत्काल कार्यान्वयन गर्न निर्देशन दिइएको सरकारले जनाएको छ ।


