Aamsanchar

पत्रकारसँग सहकार्यले अर्थतन्त्र सुदृढ हुन्छ : अध्यक्ष ढकाल

Author Image
बुधवार, चैत २५, २०८२

बिर्तामोड । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल ले पत्रकारिता क्षेत्रसँगको सहकार्यले देशको अर्थतन्त्रलाई थप गतिशील बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।

पत्रकार तथा सञ्चारकर्मीहरूलाई धन्यवाद ज्ञापन गर्न आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले निजी क्षेत्र र सञ्चार क्षेत्रबीचको सहकार्य राष्ट्रको आर्थिक विकासका लागि अपरिहार्य रहेको उल्लेख गरे। उनले कार्यक्रमलाई केवल धन्यवाद ज्ञापनमा सीमित नभई साझा दृष्टिकोण निर्माण गर्ने महत्वपूर्ण अवसरका रूपमा व्याख्या गरे।

उनले आफ्नो कार्यकाल सुरु गर्दा देशको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको स्मरण गर्दै कोभिड–१९ को असर, अन्तर्राष्ट्रिय द्वन्द्व, उच्च ब्याजदर, तरलता अभाव र नीतिगत अन्योलजस्ता कारणले अर्थतन्त्र कमजोर बनेको बताए। यस्तो अवस्थामा निजी क्षेत्रको मनोबल जोगाउने, आर्थिक गतिविधि चलायमान बनाउने र लगानीमैत्री वातावरण निर्माण गर्ने प्राथमिकतामा काम गरिएको उनले स्पष्ट पारे।

ढकालका अनुसार महासंघले नीतिगत सुधारमा सक्रिय सहभागिता जनाउँदै राष्ट्रिय आर्थिक बहसमार्फत सरकार, निजी क्षेत्र र अन्य सरोकारवालाबीच संवादको वातावरण तयार गरेको छ। यसैको परिणामस्वरूप उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन भई ३० भन्दा बढी कानुन सुधारका सिफारिसहरू अघि बढाइएको उनले जानकारी दिए।

उनले निजी क्षेत्रका उद्योग तथा व्यवसायलाई ‘शान्ति क्षेत्र’ घोषणा गरिएको र निजी क्षेत्र संरक्षण तथा प्रवद्र्धन रणनीति स्वीकृत हुनु महत्वपूर्ण उपलब्धि भएको बताए। यसले लगानी र व्यवसायको सुरक्षा तथा सम्मान सुनिश्चित गरेको उनको भनाइ थियो।

अध्यक्ष ढकालले राज्य र निजी क्षेत्रबीच सहकार्यको नयाँ संस्कृति विकास भएको उल्लेख गर्दै सार्वजनिक–निजी साझेदारी सुदृढ बनाइएको बताए। लगानी प्रवद्र्धनका लागि स्वदेशी तथा विदेशी स्तरमा पहल गरिएको, ‘नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड’ स्थापना गरी पूर्वाधार र उत्पादन क्षेत्रमा लगानीको नयाँ ढाँचा अघि बढाइएको पनि उनले बताए।

त्यसैगरी, महासंघको विधान संशोधनमार्फत संस्थागत सुशासन, पारदर्शिता र समावेशीतामा सुधार गरिएको जानकारी दिँदै उनले निजी क्षेत्रलाई राष्ट्रको आर्थिक विकासको सहयात्रीका रूपमा स्थापित गर्न सफल भएको दाबी गरे।

कार्यक्रममा उनले आर्थिक पत्रकारहरूको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै तथ्यमा आधारित विश्लेषण, रचनात्मक आलोचना र सुझावले नीतिगत सुधारलाई दिशा दिएको बताए।

“पत्रकारिता केवल सूचना प्रवाह गर्ने माध्यम मात्र नभई समाजको ऐना र नीति निर्माणको मार्गदर्शक शक्ति हो,” उनले भने।

अन्त्यमा अध्यक्ष ढकालले आफ्नो तीनवर्षे कार्यकाल सफल बनाउन सञ्चार क्षेत्रबाट प्राप्त साथ, सहयोग र समर्थनप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा पनि सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाए।

Views: 21

प्रतिक्रिया (०)

सम्बन्धित खबर