Aamsanchar

बारीमा सस्तो, बजारमा महँगो : केरामा बिचौलियाको खेल

Author Image
मङ्गलवार, वैशाख ८, २०८३

काठमाडौँ । नेपाल केरा उत्पादक महासंघले बजारमा केराको मूल्य अस्वाभाविक रूपमा बढेको भए पनि किसानले मूल्य नबढाएको स्पष्ट पारेको छ।

महासंघले उत्पादन स्थलबाट केराको मूल्य यथावत राखेर बजार पठाइएको जनाउँदै बीचका बिचौलियाका कारण मूल्य आकाशिएको दाबी गरेको हो।

महासंघका अनुसार किसानले प्रतिदर्जन ५० देखि ८५ रुपैयाँमा केरा बिक्री गरिरहेका छन्। तर खुद्रा बजारमा उपभोक्ताले सोही केरा ३५० देखि ४०० रुपैयाँसम्म तिर्नु परिरहेको गुनासो बढेको छ।

महासंघका तदर्थ समिति अध्यक्ष विष्णुहरि पन्तले किसानले पाउने मूल्य र बजार मूल्यबीच ठूलो अन्तर रहेको बताए।
‘हामीले बारीबाट मालभोग केरा ७०–८५ रुपैयाँ र हाइब्रिड केरा ५०–६० रुपैयाँ दर्जनमा बेचिरहेका छौं, तर बजारमा कृत्रिम अभाव सिर्जना गरेर ४०० रुपैयाँसम्ममा बिक्री भइरहेको छ,’ उनले भने, ‘यसले किसानले नै मूल्य बढाएको भन्ने गलत सन्देश गएको छ।’

महासंघले कृषि तथा उद्योग वाणिज्य क्षेत्रका सम्बन्धित निकायसँग भेटघाट गरी बजार अनुगमन गर्न आग्रह गरेको जनाएको छ।

नेपालमा वार्षिक करिब ९ लाख टन केराको माग रहेकोमा हाल करिब ७ लाख टन स्वदेशमै उत्पादन भइरहेको छ। बाँकी २ लाख टन अभावका कारण विशेषगरी वैशाख, जेठ र असार महिनामा बजारमा केरा अभाव देखिने गरेको महासंघले जनाएको छ।

‘साउन लागेपछि भने स्वदेशी उत्पादनले नै बजारको माग धान्छ,’ अध्यक्ष पन्तले बताए।

हाल देशभर करिब १५ हजार ७ सय हेक्टरमा केरा खेती भइरहेको छ। थप ६–७ हजार हेक्टरमा विस्तार गर्न सके नेपाल पूर्ण रूपमा आत्मनिर्भर बन्न सक्ने महासंघको भनाइ छ।

यसैबीच सरकारले ‘पानामा टीआर–४’ जस्तो खतरनाक रोगको जोखिमलाई ध्यानमा राख्दै भारतीय केरा आयातमा रोक लगाएको छ। मालभोग केरामा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले पुराना उत्पादन क्षेत्र प्रभावित हुँदै गएका छन्।

महासंघका अनुसार रोगबाट बच्न किसानले नयाँ क्षेत्रमा खेती विस्तार गर्नुका साथै टिस्युकल्चर प्रविधिबाट उत्पादन गरिएका स्वस्थ बिरुवा प्रयोग गरिरहेका छन्।

महासंघले बजारमा बिचौलियाको हस्तक्षेप नियन्त्रण गर्न प्रभावकारी अनुगमन, न्यूनतम समर्थन मूल्य निर्धारण, कृषि बीमा प्रणाली सरल बनाउने तथा गुणस्तरीय बिरुवा र मल सहज उपलब्ध गराउने व्यवस्था गर्न सरकारसँग माग गरेको छ।

Views: 21

प्रतिक्रिया (०)

सम्बन्धित खबर