

विराटनगर – विराटनगर विमानस्थलबाट अवैध रूपमा चाँदी लिएर काठमाडौं जान लागेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। नियमित सुरक्षा जाँचका क्रममा चाँदी भेटिएपछि विराटनगर महानगरपालिका–१ का ४४ वर्षीय आशिष रिजाल पक्राउ परेका हुन्। प्रहरी नायब निरीक्षक (सई) राजेन्द्र तिम्सिनाको नेतृत्वमा खटिएको टोलीले जाँच गर्ने क्रममा मंगलबार दिउँसो करिब ३:१५ बजेतिर रिजालको साथबाट करिब ३३ तोला चाँदी फेला परेको भएको प्रहरीले जनाएको छ।
मोरङ प्रहरीका सूचना अधिकारी, डीएसपी लिलाराज लामिछानेका अनुसार बरामद चाँदीको मूल्य करिब एक लाख ७० हजार रुपैयाँभन्दा बढी रहेको छ। चाँदीसँग सम्बन्धित कुनै बिल–बीजक वा वैध कागजात प्रस्तुत गर्न नसकेपछि प्रहरीले चाँदीसहित रिजाललाई पक्राउ गरेको हो। प्रहरीका अनुसार रिजाल दिउँसो ३:३० बजेको श्री एयरलाइन्सको उडानमार्फत काठमाडौं जान लागेका थिए।
विमानस्थलमा कडाइका साथ गरिएको सुरक्षा जाँचका कारण अवैध रूपमा बहुमूल्य धातु ओसारपसार गर्न खोजिएको घटना सार्वजनिक भएको हो। रिजाललाई थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ। प्रारम्भिक अनुसन्धानबाट चाँदीको स्रोत खुल्न नसकेको र यसका बारेमा विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




