Aamsanchar

दुर्लभ हुँदै गएको मुनाल: हिमाली वनको रंगीन धरोहर संरक्षण चुनौतीमा

Author Image
बिहिवार, वैशाख १७, २०८३

फोटो : सञ्जय था श्रेष्टको फेसबुकबाट

काठमाडौं । नेपालका हिमाली वनमा पाइने आकर्षक तथा दुर्लभ चरामध्ये एक मुनाल (Tragopan satyra) पछिल्लो समय लोपोन्मुख अवस्थामा पुग्ने जोखिममा देखिएको छ। अङ्ग्रेजीमा Crimson Horned Pheasant भनेर चिनिने यो चरा नेपालसहित Bhutan, Indiaको उत्तराखण्ड क्षेत्र र Chinaको दक्षिणी तिब्बती हिमाली भूभागमा पाइन्छ।

मुनाल डाँफेसँग मिल्दोजुल्दो, रंगीन र आकर्षक चरा हो। विशेषगरी भाले मुनाल पोथीभन्दा बढी चम्किलो हुन्छ। भालेको टाउको निलो, शरीर रातो र सेता थोप्लाले सजिएको हुन्छ भने प्रजनन समयमा टाउकोमा नीलो सुली उम्रने विशेषता पाइन्छ। पोथी मुनाल भने खैरो र सेता थोप्लायुक्त शरीर भएको साधारण देखिन्छ।

यो चरा मुख्यतया २४०० देखि ४२०० मिटर उचाइका गुराँस, बाँझ–कटुस, सल्ला तथा मिश्रित वनमा बसोबास गर्छ। जाडोयाममा भने करिब १८०० मिटर उचाइसम्म झर्ने गर्छ। नेपालमा खप्तड राष्ट्रिय निकुञ्ज, शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज, लाङटाङ राष्ट्रिय निकुञ्ज, सगरमाथा राष्ट्रिय निकुञ्जमकालु बरुण राष्ट्रिय निकुञ्ज लगायतका संरक्षित क्षेत्रमा यसको उपस्थिति अभिलेख गरिएको छ।

मुनाल लज्जालु स्वभावको चरा हो, जो प्रायः एक्लै वा जोडीमा बस्छ। यसले गुराँस, चुत्रोका फलफूल, कलिला पात, जरा, झ्याउ तथा किराफट्याङ्ग्रा आहारका रूपमा लिन्छ। प्रजनन समय बैशाखदेखि असारसम्म हुने गरेको पाइन्छ, जसमा पोथीले एकपटकमा २–३ वटा अण्डा पार्छ।

तर पछिल्लो समय यसको अस्तित्वमा गम्भीर चुनौती देखिएको छ। अवैध शिकार, व्यापारका लागि समातिने क्रम, जङ्गल विनाश, अत्यधिक दाउरा–घाँस सङ्कलन तथा चरिचरणका कारण यसको बासस्थान नष्ट हुँदै गएको छ। साथै निगालोको अत्यधिक दोहनले पनि यसको आवासमा असर पुर्‍याएको विज्ञहरू बताउँछन्।

विश्वभर यसको संख्या २० हजारभन्दा कम रहेको अनुमान गरिएको छ भने नेपालमा यो संख्या एक हजारभन्दा कम हुन सक्ने आँकलन गरिएको छ। यही कारण International Union for Conservation of Nature (IUCN) ले यसलाई खतराको नजिक पुगेको प्रजातिको सूचीमा राखेको छ। नेपालमा भने यसलाई अझ संवेदनशील मान्दै संरक्षण सूचीमा समावेश गरिएको छ।

नेपालको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तर्गत अनुसूची १ मा राखी मुनाललाई कानुनी संरक्षण प्रदान गरिएको भए पनि यसको संरक्षणका लागि प्रभावकारी कार्यान्वयन आवश्यक रहेको सरोकारवालाहरू बताउँछन्।

Views: 52

प्रतिक्रिया (०)

सम्बन्धित खबर