Aamsanchar

रक्षा मन्त्रालयको तेस्रो त्रैमासिक बजेट समीक्षा : ८० प्रतिशतभन्दा बढी प्रगति

Author Image
बुधवार, वैशाख २३, २०८३

काठमाडौं – रक्षा मन्त्रालयको चालु आर्थिक वर्षको लक्ष्यअनुसार ८० प्रतिशतभन्दा बढी प्रगति देखिएको छ।

मन्त्रालयको तेस्रो त्रैमासिक अवधिसम्मको प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा सो जानकारी दिइयो।

मन्त्रालयअन्तर्गत कोशी कोरिडोर (च्याम्ताङ–घोङ्घप्पा) सडक आयोजना, कर्णाली सडक आयोजना र बेनिघाट–आरुघाट–लार्केभञ्जाङ सडक आयोजनाको यस अवधिमा १०० प्रतिशत भौतिक प्रगति भएको देखिएको छ।

त्यस्तै, महाकाली कोरिडोर(तुषारपानी–टिङ्कर)सडक आयोजनाको प्रगति ८२ दशमलव ९९ प्रतिशत र राष्ट्रिय चुरे संरक्षण कार्यक्रमको प्रगति ८० प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

यसैगरी, मन्त्रालयअन्तर्गत काठमाडौँ–तराईरमधेस दू्रतमार्ग सडक आयोजनाको ३४ दशमलव चार प्रतिशत, राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको ३५ दशमलव ७३ प्रतिशत र बङ्करदेखि ब्यारेक आयोजनाको प्रगति २३ दशमलव ५० प्रतिशत प्रगति रहेको छ।

प्रधानसेनापति अशोकराज सिग्देलले कोरिडोर निर्माणमा ‘ट्र्याक’ खोल्नका लागि आवश्यक बजेटको कमीले क्षमताअनुसार काम गर्न नसकिएको बताए। साथै उनले आफूहरूको ध्यान दू्रतमार्ग आयोजना सम्पन्न गर्नमा बढी केन्द्रित रहेको उल्लेख गर्दै आयोजनामा देखिएका चुनौती समाधानका लागि वर्तमान परिस्थितिमा थप सहज हुने अपेक्षा गरे।

कार्यक्रममा रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्माले मन्त्रालयको प्रगति राष्ट्रिय तुलनामा सन्तोषजक भए पनि आयोजनामा देखिएका अन्य अवरोध तथा चुनौती रक्षा मन्त्रालय एक्लैले समाधान गर्न गाह्रो हुने हुँदा मन्त्रालयगत समन्वय र सहयोगको खाँचो रहेको उल्लेख गरे।

प्रतिरक्षा विश्वविद्यालयका अध्यक्ष बालानन्द शर्माले विश्वविद्यालय सञ्चालनका लागि तत्काल सो सम्बन्धी विधेयक अघि बढाउन र आवश्यक पहुँच मार्गको स्तरोन्नतिका लागि आग्रह गरे।

मन्त्रालयका सहसचिव कृष्ण पौडेलले प्रगति समीक्षासम्बन्धी प्रस्तुतीकरण दिएका थिए। उक्त कार्यक्रममा विभिन्न मन्त्रालयका प्रतिनिधिहरूले आवश्यक समन्वय र सहयोगका लागि प्रतिबद्धता व्यक्त गरे।

Views: 15

प्रतिक्रिया (०)

सम्बन्धित खबर