Aamsanchar

रोटरीका समर्पित नेता रिजालको सम्झनामा शोकसभा

Author Image
बुधवार, वैशाख २३, २०८३

बिर्तामोड । रोटरी इन्टरनेशनल नेपाल डिस्ट्रिक ३२९२ का पूर्व गर्भनर स्वर्गीय सन्तोष रिजालको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै झापाको अर्जुनधारा जलेश्वरधा मा श्रद्धाञ्जलीसभा सम्पन्न गरिएको छ।

डिस्ट्रिक्ट ३२९२ अन्तर्गत रिजन ७ का विभिन्न क्लबहरूको संयुक्त आयोजनामा सम्पन्न उक्त शोकसभामा झापा र मोरङ क्षेत्रका रोटरियनहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सभामा सहभागीहरूले स्वर्गीय रिजालले रोटरी अभियानमार्फत समाज रूपान्तरणका लागि पुर्‍याउनुभएको समर्पण, नेतृत्व र मानवीय सेवाको योगदानलाई भावुकतापूर्वक स्मरण गरेका थिए।

उहाँको सरलता, दूरदर्शिता र सेवा भावले रोटरी परिवारलाई मात्र होइन, समग्र समाजलाई नै प्रेरित गरेको वक्ताहरूले उल्लेख गरे। क्लबका अध्यक्ष तथा संस्थापक अध्यक्षहरूले “रिजालजस्तो समर्पित रोटरियनको अभाव सदैव खड्किनेछ” भन्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे।

शोकसभामा रोटरी क्लब अफ काँकडभिट्टा, मेचीनगर, भद्रपुर, बिर्तामोड, सुरुंगा, दमक, उर्लाबारी र रोट्याक्ट क्लब विर्तामोडका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो। साथै असिस्टेन्ट गर्भनर बिनोद चापागाईं र रुद्र मैनालीलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा स्वर्गीय रिजालको तस्वीरमा माल्यार्पण तथा दीप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो। अर्जुनधारा धामका मुल अर्चक अग्नीप्रसाद सिग्देलसहितका बटुकहरूले संस्कृत मन्त्रोच्चारणमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै वातावरणलाई अझ भावुक बनाएका थिए।

स्वर्गीय सन्तोष रिजालको योगदान र सम्झना रोटरी परिवारको हृदयमा सदैव जीवित रहने विश्वास व्यक्त गर्दै उपस्थित सबैले मौनधारणसमेत गरेका थिए। उहाँप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरिएको छ।

Views: 2

प्रतिक्रिया (०)

सम्बन्धित खबर