Aamsanchar

मिडियामाथि विज्ञापन रोक्दा बिर्तामोडमा बहस तातियो

Author Image
शनिवार, वैशाख १९, २०८३

बिर्तामोड । सरकारले निजी सञ्चार माध्यमलाई दिँदै आएको विज्ञापनमा लगाएको रोकको विषय बिर्तामोडमा चर्को बहसको केन्द्र बनेको छ। “पत्रकारिताको चुनौती र अबको बाटो” विषयक अन्तरक्रियामा सहभागी वक्ताहरूले सरकारी नीतिप्रति असन्तुष्टि पोख्दै त्यसको प्रत्यक्ष असर मिडियाको अस्तित्वमै पर्ने चेतावनी दिएका छन्।

प्राइड मिडिया प्रालिद्वारा सञ्चालित नयाँ पेपर डटकम को आयोजनामा सम्पन्न कार्यक्रममा सञ्चार क्षेत्रका अगुवा, सरोकारवाला र स्थानीय जनप्रतिनिधिहरू एकै ठाउँमा उभिएर मिडियाको वर्तमान अवस्था र भविष्यबारे खुला बहस गरेका थिए। कार्यक्रमकै अवसरमा टेबल क्यालेन्डर पनि विमोचन गरिएको थियो।
कार्यक्रममा नेपाल पत्रकार महासंघसँग आबद्ध नेताहरूले सरकारको निर्णयलाई “मिडिया मैत्री नभएको कदम” भन्दै तत्काल पुनर्विचार गर्न आग्रह गरे। उनीहरूले स्थानीय तहहरूले उपलब्ध गराउँदै आएको लोककल्याणकारी सूचना पनि निरन्तर दिनुपर्ने धारणा राखे।
बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतरा प्रसाईको प्रमुख आतिथ्य रहेको कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले मिडियाको भूमिका झन् सशक्त बनाउनु पर्नेमा जोड दिए।

कार्यक्रम नेपाल पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरी, बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था अध्यक्ष मेघराज बास्तोला, पर्यटन कार्यालय काँकरभिट्टा प्रमुख छविलाल खतिवडा, रेडिो भिजनका प्रवन्धक निर्देशक गणेश पोखरेल, नारी सञ्चार गृह अध्यक्ष स्वस्तिका आचार्य, सञ्चारिका समूह झापा अध्यक्ष लीला अनमोल, प्रेस चौतारी अध्यक्ष प्रदिप परियार, प्रेस सेन्टर अध्यक्ष पुष्प खड्कालगायतका स्थानीय संस्थाका प्रतिनिधिहरूले धारणा राखेका थिए ।

स्वागत सह–सम्पादक सुनिरा मैनालीले गरिन् भने सञ्चालन प्रधान सम्पादक रमेश तिवारीले गरेका थिए।
निष्कर्षमा, कार्यक्रममा उठेका आवाजहरूले स्पष्ट सन्देश दिएका छन्—मिडियालाई कमजोर बनाउने नीति अन्ततः लोकतन्त्रकै लागि जोखिमपूर्ण हुन सक्छ।

Views: 49

प्रतिक्रिया (०)

सम्बन्धित खबर