Aamsanchar

बिर्तामोड श्रीहरी टोलमा पैनी खन्ने क्रममा विवाद, कुटपिटपछि काम स्थगित

Author Image
शनिवार, वैशाख १९, २०८३

बिर्तामोड। बिर्तामोड नगरपालिका–२ स्थित श्री हरी टोलमा पैनी खन्ने कार्यका क्रममा विवाद उत्पन्न भएपछि काम स्थगित गरिएको छ।

आज बिहान करिब ९:४० बजे वडा अध्यक्ष किशोरकुमार पौडेलको उपस्थितिमा दुई वटा स्काभेटर प्रयोग पैनी खन्ने कार्य सुरु गरिएको थियो। सो क्रममा सुरक्षाका लागि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोलीसमेत खटिएको थियो।

बिहान करिब ११:५० बजे स्थानीय बासिन्दाले आपत्ति जनाउँदै विवाद सिर्जना गर्न खोजेपछि तत्कालका लागि काम रोकिएको र स्काभेटर फिर्ता पठाइएको प्रहरीले जनाएको छ। स्थानीय र नगरपालिका बीच सहमति गरेर मात्र बाँकी काम अघि बढाइने समझदारी भएको बुझिएको छ।

यसैबीच, करिब २०–३० जना स्थानीय भेला भई अर्को जेसीबी प्रयोग गरेर खनेको स्थान पुर्ने क्रममा दुई व्यक्तिबीच झडप भएको थियो। झडपमा बिर्तामोड–२ का ७३ वर्षीय नन्दकुमार उप्रेतीलाई २२ वर्षीय निकेश मिश्रले कुटपिट गरी फरार भएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाएपछि प्रहरी टोली खटिएको र कुटपिटमा संलग्न मिश्रको खोजी कार्य जारी रहेको छ। घाइते उप्रेतीलाई बिर्तामोडस्थित स्पाइन एक्स अस्पतालमा उपचारका लागि ल्याइएको छ। उनको नाकमा सामान्य चोट लागेको र अवस्था स्थिर रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

घटनापछि उक्त क्षेत्रमा शान्ति सुरक्षाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

Views: 11

प्रतिक्रिया (०)

सम्बन्धित खबर