

काठमाडौँ – नेपाल सरकारले इरानको बन्दर अब्बासमा रहेका नेपाली नागरिक अमृत झाको रिहाइ हुन अझ केही समय लाग्ने भएको छ।
परराष्ट्र मन्त्रालयले बिहीबार गरेको पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर क्षेत्रीले इरानको वर्तमान अवस्था र कानूनी प्रणालीका कारण प्रक्रियामा केही समय लाग्ने देखिएको बताएका हुन्। तर पनि इरानी परराष्ट्र मन्त्रालयसँग निरन्तर समन्वय भइरहेको उनले बताए। मन्त्रालय पीडितको परिवार र सम्बन्धित निकायसँग निरन्तर सम्पर्कमा रहेको पनि उनले दाबी गरे।
प्रवक्ता क्षेत्रीकाअनुसार युएईको फुजेरामा हालै भएका केही छिटपुट घटनाबाहेक समग्र सुरक्षा अवस्था सकारात्मक छ । मन्त्रालयले स्थापना गरेको इमर्जेन्सी कन्ट्रोल रुम र कन्सुलर सेवा विभागको अनलाइन दर्ता प्रणालीमार्फत नेपाली नागरिकहरूसँग निरन्तर सम्पर्क भइरहेको मन्त्रालयले जनाएको छ । क्षेत्रीले पश्चिम एसियामा रहेका नेपाली नागरिक सुरक्षित रहेको जानकारीसमेत दिए। ‘पश्चिम एशियामा रहेका नेपालीहरूको अवस्था सामान्य छ र उहाँहरूको सुरक्षा तथा हितका लागि मन्त्रालय निरन्तर सजग छ’, उनले भने।

उनले खाडी क्षेत्रमा दिगो शान्तिका लागि समझदारी बन्दै गएको र अवरुद्ध यातायात तथा आपूर्ति श्रृङ्खला छिट्टै सहज हुने विश्वास व्यक्त गरे।
यसैबीच पश्चिम एशियामा विकसित घटनाक्रमले नेपालमा पार्नसक्ने प्रभावबारे अध्ययन गर्न गठित उच्चस्तरीय अन्तरमन्त्रालय कार्यदलले प्रतिवेदन सरकारलाई बुझाएको छ । परराष्ट्रमन्त्रीको संयोजकत्वमा गठित उक्त कार्यदलले तयार पारेको प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गरिसकिएको मन्त्रालयले जनाएको छ ।



