Aamsanchar

चीनमा विवाहको संख्या दशककै न्यून विन्दुमा

Author Image
मङ्गलवार, वैशाख २९, २०८३

काठमाडौं –  सन् २०२६ को पहिलो त्रैमासिक अर्थात् जनवरीदेखि मार्चसम्म चीनमा करिब १७ लाख विवाह दर्ता भएका छन् । १.४ अर्ब जनसंख्या भएको देशका लागि यो संख्या निकै कम मानिएको छ ।

समाचार एजेन्सी रोयटर्सले आधिकारिक तथ्यांकलाई उद्धृत गर्दै दिएको जानकारीअनुसार यो संख्या सन् २०२५ को पहिलो त्रैमासिकको तुलनामा ६।२ प्रतिशतले कम हो । सन् २०१७ को पहिलो त्रैमासिकको तुलनामा झन्डै आधाले न्यून हो ।

रोयटर्सका अनुसार विवाह दर्तामा आएको यो गिरावटले चीनमा बढ्दो जनसांखिकीय चुनौतीको स्पष्ट संकेत गरेको छ ।

विवाहको संख्या घट्दै जाँदा जन्मदरमा पनि स्वाभाविक रूपमा गिरावट आएको छ । हाल चीनको जन्मदर रेकर्डकै न्यूनस्तरमा पुगेको छ । विज्ञहरूले आगामी वर्षहरूमा यो अझै घट्न सक्ने चेतावनी दिएका छन् ।

विवाह तथा जन्मदरमा आएको निरन्तर गिरावटका कारण सन् २०२५ मा लगातार चौथो वर्ष चीनको कुल जनसंख्या घटेको तथ्यांक सार्वजनिक भएको थियो ।

घट्दो जनसंख्याले दीर्घकालीन रूपमा चीनको श्रम शक्ति, आर्थिक वृद्धि तथा सामाजिक संरचनामा गम्भीर असर पार्न सक्ने भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।

जनसंख्या घट्ने क्रमलाई रोक्न चिनियाँ सरकारले युवालाई विवाह गर्न र सन्तान जन्माउन प्रोत्साहित गर्ने विभिन्न कार्यक्रम अघि बढाइरहेको छ ।

सरकारले परिवारहरूलाई आर्थिक अनुदान (सब्सिडी) दिने, बालबालिकाको पालनपोषणका लागि आर्थिक सहयोग उपलब्ध गराउने तथा बच्चा जन्मिँदा लाग्ने स्वास्थ्य उपचार खर्च कम गर्ने प्रयास गरिरहेको बताइएको छ ।

Views: 21

प्रतिक्रिया (०)

सम्बन्धित खबर