Aamsanchar

हर्क साम्पाङले विज्ञप्ति नै निकालेर मागे प्रधानमन्त्रीको राजीनामा

Author Image
शुक्रवार, जेठ १, २०८३

काठमाडौंः श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संघीय सांसद हर्कराज राई (साम्पाङ)ले प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन्। आज एक प्रेस विज्ञप्ति जारी गर्दै सांसद साम्पाङले प्रधानमन्त्रीले संसदको अपमान गरेको र संसदीय परम्पराको बेवास्ता गरेको भन्दै पदबाट राजीनामा दिनुपर्ने माग गरेका हुन्।

सांसद साम्पाङले प्रधानमन्त्री बालेन शाहमाथि संसदीय अभ्यासको इतिहासमा ‘कालो धब्बा’ लगाएको र जनताको सार्वभौम सदनलाई बेवास्ता गरेको आरोपपनि लगाएका छन्।

नीति तथा कार्यक्रमको समयमा अनुपस्थिति रहेको, छलफलमा सहभागी नभएको र संसदीय मर्यादा र स्थितिलाई कायम राख्न नसकेको तथा जनतालाई सम्बोधन नगरेर लोकतन्त्रप्रतिको विश्वासलाई लत्याएको साम्पाङको आरोप छ।

विज्ञप्तिमा साम्पाङले प्रधानमन्त्रीलाई ‘असक्षम र असफल’को संज्ञा दिँदै प्रश्न गरेका छन्, ‘आफ्नो धरातल बिर्सेर जनताका प्रश्नहरूको उत्तर दिन नसक्ने, लुकेर बस्ने प्रवृत्तिले कस्तो नजिर बसाउँछ?’ उनले न्यूनतम कर्तव्य समेत पूरा नगरेकाले नैतिकताको आधारमा मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।

‘कर्तव्य पूरा नगर्दा अधिकार प्राप्त नहुने हुँदा न्यूनतम कर्तव्य समेत पूरा नगरेको कारण नैतिकताको आधारमा पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्दा लोकतन्त्र सम्मानित हुने देखिन्छ,’ साम्पाङद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

 

Views: 36

प्रतिक्रिया (०)

सम्बन्धित खबर