
काठमाडौँ – काठमाडौँस्थित मलेसियाली दूतावासले मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण ‘बायोमेडिकल सिस्टम’ बापतको सम्पूर्ण खर्च रोजगारदाताले नै बेहोर्नुपर्ने स्पष्ट पारेको छ।
दूतावासले सोमबार मा एक सार्वजनिक सूचना जारी गर्दै कामदारको भर्ना, रोजगारी र फिर्तीसम्बन्धी सन् २०१८ को श्रम सम्झौतालाई स्मरण गराउँदै यस्तो स्पष्टोक्ति दिएको हो।

दूतावासको सूचनाअनुसार नेपाल र मलेसिया सरकारबीच २९ अक्टोबर २०१८ मा भएको समझदारीपत्रले मलेसिया जाने नेपाली कामदारको बायोमेडिकल प्रणालीमार्फत स्वास्थ्य परीक्षण गर्न ३६ वटा स्वास्थ्य केन्द्रलाई तोकेको छ। यस प्रयोजनका लागि नेपाल सरकारले लिने शुल्कका अतिरिक्त मलेसिया सरकारले ‘सर्भिस चार्ज’ बापत ३ हजार रुपैयाँ तोकेको छ।

यो स्वास्थ्य परीक्षण बापत लाग्ने सम्पूर्ण खर्चको दायित्व मलेसियाली रोजगारदाताकै हुने समझदारीपत्रमा स्पष्ट उल्लेख भएको दूतावासले जनाएको छ।
साथै, दूतावासले नेपालमा बायोमेडिकल प्रणालीको व्यवस्थापन गर्न, शुल्क उठाउन र वैधानिक रूपमा रकम पठाउनका लागि ‘म्याक्रो टेक प्रालि’ र ‘बेस्टिनेट एसडीएन बीएचडी’ लाई आधिकारिक रूपमा अधिकार दिइएको जानकारी गराएको छ।
यी दुवै कम्पनीले नेपाल र मलेसिया सरकारबिच भएको सहमतिका प्रावधानअनुसार नै आफ्नो सञ्चालन तथा कामकारबाही गरिरहेको दूतावासले सूचनामा उल्लेख गरेको छ।


