
काठमाडौं – सशस्त्र प्रहरी सहायक निरीक्षक निम डिकी शेर्पाले ८ हजार ५१६ मिटर अग्लो ल्होत्से हिमालको सफल आरोहण गरेकी छन।
विश्वको चौथो अग्लो हिमाल ल्होत्सेको आरोहणसँगै उनी सशस्त्र प्रहरी बल नेपालको तर्फबाट ल्होत्से र सगरमाथा दुवै हिमाल सफलतापूर्वक आरोहण गर्ने पहिलो सशस्त्र प्रहरी बन्न सफल भइन्।

सशस्त्र प्रहरी नायब उपरीक्षक एवम् सह–प्रवक्ता शैलेन्द्र थापाका अनुसार सहायक निरीक्षक शेर्पाले ल्होत्से हिमालको आरोहण मे सोमबार दिउँसो ३ः२५ बजे गरेकी हुन्। यस उपलब्धिले सशस्त्र प्रहरी बल नेपालको उच्च पहाडी तथा हिमाली उद्धार क्षमतासँगै महिलाहरूको सक्रिय सहभागिता र साहसिक योगदानलाई नयाँ उचाइमा पुर्याएको छ उनले बताएका छन्।

सशस्त्र प्रहरी बल नेपालले मनाङ जिल्लामा पर्वतीय उद्धार तालिम शिक्षालय स्थापना गरेपछि पर्वतीय उद्धारसम्बन्धी विभिन्न तालिम सञ्चालन गर्दै आइरहेको छ।
निम डिकी शेर्पाको यो ऐतिहासिक आरोहणले उत्तरी सीमा सुरक्षा तथा पर्वतीय उद्धार क्षमताको विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।
यसअघि उनले मे १७ तारिख बिहान ११ः५५ बजे विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरिसकेकी थिइन्। उनीसँगै सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्कीले पनि मे १७ मा सगरमाथाको सफल आरोहण गरेकी थिइन्।


