Aamsanchar

भाइरल ज्वरोबाट जोगिन चिकित्सकको आग्रह

Author Image
शुक्रवार, साउन १३, २०७४

नरेन्द्र ढकाल
झापा । साउनको दोश्रो साता बित्नै लाग्दा झापाको मौसम स्वभाविक भएको छैन । छिनमा पानी दर्किने र छिनमै घाम चर्किने गरेको छ । यस्तो अवस्थामा मौसमी रोगको प्रकोप फैलन सक्ने भन्दै जिल्ला जनस्वास्थ्य कार्यालय झापाले सबैलाई सचेत रहन आग्रह गरेको छ ।
मोरङ तथा अन्य केही जिल्लामा भाइरल ज्वरोको प्रकोप बढी रहेका बेला झापामा पूर्व तयारी अवस्थामा स्वास्थ्यकर्मीहरु रहेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका प्रमुख मधुसुधन कोइरालाले बताए । उनले भने– झापामा स्वास्थ्यकर्मी र औषधि सबै स्वास्थ्य संस्थामा पर्याप्त रहेको छ, कुनै स्थानमा भाइरल रोगको संक्रमण हुने बित्तिकै स्वास्थ्यकर्मी परिचालित हुने छन् ।
झापा सरुवा रोगको जोखिम क्षेत्र भएको चिकित्सकहरुको भनाइ छ । प्रदुषित वातावरण, दुषित पिउने पानी, यत्रतत्र फ्याँकिने फोहोरमैला, ढलको उचित व्यवस्थापनको अभाव जस्ता कारणले सरुवा अर्थात् हावाको माध्यमबाट सर्ने रोग छिटो फैलन सक्ने डाक्टरहरुले बताएका छन् ।
यस्तो मौसममा टाउको दुख्ने, ज्वरो आउने, रुघाखोकी, जण्डिस, टाइफाइड, आँखा पाक्ने लगायतका विभिन्न रोगको संक्रमण बढी हुने भएकोले सचेत बन्नुपर्ने जनस्वास्थ्य प्रमुख कोइरालाको भनाइ छ । यस्तो मौसममा जथाभावी पानीमा भिज्ने, जहाँसुकैको पानी पिउने काम गर्न नहुने जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी देवराज कार्कीले बताए । यो बेला मौसमी रोगको संक्रमण बढी हुने भएकाले बालबालिका र बृद्धबृद्धालाई छिटो संक्रमण हुन सक्ने भएकाले सचेत बन्नुपर्ने उनको भनाइ छ ।
प्रकृतिक प्रकोप बाढी, पहिरो आएपछि विभिन्न सरुवा रोगको महामारी नै फैलने भएकाले जनस्वास्थ्य कार्यालयले सबै ठाउँमा उच्च सतर्कताका साथ औषधि र चिकित्सकको व्यवस्था गरेको कार्कीले जानकारी दिए । झापामा रोगको अवस्था, सचेतना, पूर्वतयारी लगायतको विषयमा अध्ययन गर्न तथा जानकारी गराउन जनस्वास्थ्य कार्यालयले आरआरडी नामको टिम नै बनाएर काम गरिरहेको जनस्वास्थ्य कार्यालयका प्रमुख कोइरालाले जानकारी दिए ।
झापामा हालसम्म कुनै पनि प्रकारका सरुवा रोगको संक्रमण नभएको चिकित्सकहरुले बताएका छन् । उच्च गर्मीसँगै तातो हावा आउने र शरीरले थाम्नै नसक्ने गरी ज्वरो आउने गरेकाले साना उमेर भएकाका लागि भाइरल ज्यादै जोखिमपूर्ण बन्न पुगेको चिकित्सकको भनाइ छ । भाइरल ज्वरोसँगै गाउँघरको सफाईमा ख्याल नगरिँदा अन्य कारणले पनि मानिसको स्वास्थ्यमा प्रतिकूल प्रभाव परेकोे पाइएकाले चिकित्सकले तत्काल सफाईमा पनि ध्यान दिन सुझाएकोे बताइएको छ ।
के हो भाइरल ज्वरो ?
सामान्य भाषामा इन्फ्लुएञ्जा वा फ्लुलाई भाइरल ज्वरो भनिन्छ । एक्कासि ज्वरो आउने, खुट्टादेखि टाउकोसम्म दुख्ने, श्वासप्रश्वासमा अप्ठ्यारो हुने, बेला–बेला टाउको दुख्ने, आँखा रसिला हुने, वाक्वाक्ी लाग्ने जस्ता लक्षण देखा परेमा त्यसलाई इन्फ्लुएन्जा भनिन्छ । बदलिँदो मौसम, वायु प्रदूषण तथा दुषित पानीका कारण भाइरलको संक्रमण बढी हुन्छ ।
अहिलेको ज्वरो सिजनल फ्लु
अहिलेको ज्वरो सिजनल फ्लु भएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कोइरालाले बताए । भाइरल ज्वरो हावाको माध्यमबाट सर्ने भएकाले यसको प्रभाव जाडो मौसममा भन्दा बढी गर्मी मौसममा देखिन्छ । यो खासगरी इन्फ्लुएन्जा भाइरस ए र बी ले धेरै गरेको हुन्छ ।
कसरी सर्छ भाइरल ज्वरो ?
भाइरल ज्वरो सरुवा रोग हो । त्यसैले रोग लागेको मानिसले खोक्दा खकार र थुकका कण, हाँच्छिउ गर्दा तरल पदार्थ हावाको माध्यमबाट किटाणु अर्को स्वच्छ मानिसको शरीरमा सर्छ । खकार, ¥याल र सिंगानका कणबाट वातावरणमा भाइरस निस्कन्छन् र नजिकै बसेको मानिसले सास फेर्दा यो भाइरस सर्छ ।
हावामा खेलिरहेका किटाणु श्वासप्रश्वासबाट, खाना र पानीमा रहेका किटाणु सिँधै शरीरमा पुग्ने चिकित्सकहरुको भनाइ छ । सामान्य अवस्थामा भाइरल ज्वरो तीन दिनमा निको हुने भए पनि एक हप्तासम्म खोकीसँगै शरीर कमजोर हुनसक्ने डाक्टरहरुले बताएका छन् । तर ज्वरोसँगै झाडापखाला र बिरामी बेहोस हुने भएमा तुरुन्त अस्पताल वा स्वास्थ्य केन्द्र लैजानुपर्छ ।
भाइरल ज्वरोका लक्षण
१ सय २ देखि ३÷४ डिग्रीसम्मको ज्वरोसँगै पसिना आउने र रोकिने हुन्छ । बेला–बेला चिसो महशुस हुन्छ । खोकी लाग्छ । घाँटी दुख्छ । हाँच्छिउसँगै नाकबाट पानी बग्छ । टाउको, शरीर तथा हाडजोर्नी दुख्छ । अनुहार सुन्निन्छ र आँखा रातो हुन्छ । वाक्वाक्ी लाग्ने, वान्ता हुने, पेट बटार्ने र झाडापखाला लाग्ने हुन्छ ।
बच्ने उपाय
ज्वरो आएको समयमा सकेसम्म हात नमिलाउने, समूहमा नबस्ने, हाच्छ्युँ गर्दा रुमालले नाकमुख छोप्ने, सार्वजनिक ठाउँमा हिँड्डुल गर्दा मास्क लगाउने र बिरामीसँग एकमिटर टाढा बस्न सके यस्ता संक्रमणबाट जोगिन सकिने जनस्वास्थ्य कार्यालय झापाका प्रमुख कोइरालाले बताए ।
जानिराखौं घरेलु उपचार विधि
सामान्य लक्षण देखिएको बेला बिरामीले घरमै आराम गर्नु राम्रो हुने चिकित्सकहरुले बताएका छन् । इन्फ्लुएन्जाबाट ज्वरो आएको वा झाडापखाला भएको हो भने प्रशस्त मात्रामा झोलिलो पदार्थ जस्तै दालको रस, मनतातो पानी खुवाएर जलवियोजन हुनबाट जोगाउन सकिन्छ । जति बढी सफा पानी खायो त्यति नै छिटो पानी रगतमा फैलन्छ र भाइरसलाई पिसाबको माध्यमबाट बाहिर फाल्ने काम गर्छ । भाइरलको सामान्य लक्षणमा घरमै उपचार गर्न सकिए पनि थप सल्लाह र औषधि उपचारका लागि नजिकैको अस्पताल वा स्वास्थ्य संस्थामा जानुपर्ने जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कोइरालाले बताए ।

Views: 176

प्रतिक्रिया (०)

सम्बन्धित खबर