
सिमरा – उद्योगमन्त्री गौरीकुमारी यादवले आइतबार बाराको सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज)को स्थलगत निरीक्षण गरेकी छिन्। सरकारले हटाउने तयारी गरिरहेका बेला मन्त्री यादवले सेजको अतिक्रमित जग्गाको निरीक्षण गरेकी हुन्।
निरीक्षणका क्रममा स्थानीय सरकार, प्रशासन र स्थानीयसँग साक्षात्कार गरेकी मन्त्री यादवले सञ्चारकर्मीलाई भने कुनै प्रतिक्रिया दिइनन्। सञ्चारकर्मीको जिज्ञासामा मौन बसेकी मन्त्री यादवले जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४, १४ र १५ मा पर्ने सेजअन्तर्गतको जग्गा र यसमा बनेका संरचनाको विषयमा जानकारी लिएकी थिइन्।
मन्त्रालयका सचिव कृष्णबहादुर राउत, विशेष आर्थिक क्षेत्र प्राधिकरणका निमित्त कार्यकारी निर्देशक मेघराज शंकरसहित टोली लिएर सिमरा आएकी मन्त्री यादवले सेजको जग्गामा बसोबास गर्ने केही स्थानीयसँग छलफलसमेत गरिन्। उक्त समयमा सेजमा लामो समयदेखि बसोबास गर्ने ९३ घरधुरीले मन्त्री यादवलाई ज्ञापनपत्रसमेत बुझाए। उक्त ९३ घरधुरी २०५९ सालमा वीरगन्ज चिनी कारखाना बन्द हुनुअघि नै बसोबास गर्दै आएका छन्।



