Aamsanchar

हिमालयन मस्क डियरको संरक्षण अभियान

Author Image
बिहिवार, जेठ १४, २०८३

काठमाडौं –  पश्चिम नेपालको दुर्गम हिमाली क्षेत्र डोल्पामा रैथाने कस्तूरी मृग (हिमालयन मस्क डियर)को संरक्षण, अनुसन्धान र जनचेतना अभिवृद्धि कार्यक्रम अघि बढाइएको छ। लोक पिपुल इन एक्सन ‘प्रोजेक्ट एलएएच’अन्तर्गत रैथाने कस्तूरी मृगसँग सम्बन्धित स्थलगत गतिविधिहरूले तीव्रता पाएका छन्। वन क्षेत्रमा बढ्दो मानवीय गतिविधि, वासस्थानको विनास र चोरी–सिकारीको उच्च जोखिमका कारण यो प्रजाति संकटमा परिरहेका बेला स्थानीयको सहभागितामा यो संरक्षण अभियान अघि बढाइएको हो।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघको रातो सूचीमा ‘संकटापन्न’ विधामा सूचीकृत कस्तूरी मृगको पर्यावरणीय अवस्थाबारे अझै पनि पर्याप्त तथ्य र तथ्यांक उपलब्ध छैनन्। परियोजनाको पहिलो चरणअन्तर्गत शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जभित्र कस्तूरी मृगको उपस्थिति र घनत्व मापन गर्न २५ वटा ‘क्यामेरा ट्र्याप’ स्टेसनहरू स्थापना गरी वन्यजन्तुहरूको अनुगमन भइरहेको छ। अनुसन्धान टोलीले यस क्षेत्रका अल्पाइन र सब–अल्पाइन वनहरूमा वासस्थानको अवस्था र मृगका संकेतहरूको पहिचान गरिरहेको छ, जसअन्तर्गत सन् २०२५ को नोभेम्बरमा पहिलो मौसमी सर्वेक्षण सम्पन्न भइसकेको छ भने दोस्रो मौसमी सर्वेक्षण हाल सञ्चालन भइरहेको छ।

पर्यावरणीय अनुसन्धानका साथै स्थानीय समुदायको सोच र चेतनास्तर बुझ्न परियोजनाले सामाजिक बजारीकरण अभियानअन्तर्गत निकुञ्ज वरपरका १ सय २४ घरधुरीमा अर्ध–संरचित अन्तर्वार्ताहरू सम्पन्न गरेको छ।

सर्वेक्षणका क्रममा कतिपय क्षेत्रमा कस्तूरी मृगको पर्यावरणीय महत्त्व र यसको कानुनी संरक्षणको अवस्थाबारे स्थानीयमा अझै पनि पर्याप्त जानकारी नभएको पाइएकाले व्यावहारिक संरक्षण योजना बनाउन यो तथ्यांक उपयोगी हुने अनुसन्धानकर्ताहरूको भनाइ छ। यसैक्रममा समुदायमा घरदैलो अभियान चलाएर वन्यजन्तु संरक्षण, चोरी–सिकारी नियन्त्रण र हिमाली पारिस्थितिकीय प्रणालीको महत्वबारे छलफल गरिएको छ।

साथै, डोल्पाको ताप्रिजा स्कुलका विद्यार्थीहरूलाई कस्तूरी मृगको संरक्षण, यसका चुनौती र उपायहरूबारे सचेत गराउँदै संरक्षणको सन्देश अंकित नोटबुक्स र सूचनामूलक पोस्टरहरूसमेत वितरण गरिएको छ, जसले आगामी पुस्तामा जैविक विविधता संरक्षणप्रति अपनत्व जगाउने विश्वास गरिएको छ। परियोजनाले आगामी दिनमा आफ्नो ध्यान थप सुदृढ संरक्षणतर्फ केन्द्रित गर्दै जोखिमयुक्त वासस्थानहरूमा समुदायमा आधारित चोरी–सिकारी नियन्त्रण गस्तीलाई सहयोग गर्ने र कस्तूरी मृगको चरन क्षेत्रमा घरेलु चौपायाको चाप कम गर्न गोठालाहरू माझ आलोपालो चरन प्रणालीलाई प्रवर्धन गर्ने लक्ष्य राखेको छ।

Views: 34

प्रतिक्रिया (०)

सम्बन्धित खबर