Aamsanchar

प्रतिनिधिसभाको निर्वाचन आवश्यक :ओली

Author Image
शुक्रवार, साउन १३, २०७४

काठमाडौँ ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधान बमोजिम समय कम भएकाले प्रदेशसभाभन्दा पहिला प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्ने बताउनुभएको छ ।

छिमेकी चीनको तिब्बतमा एक साताको भ्रमणबाट आज स्वदेश फर्केपछि सञ्चारकर्मीसँग उहाँले दुवै तहको एकैपटक निर्वाचन गर्दा पनि आफ्नो पार्टीको आपत्ति नहुने तर प्रतिनिधिसभाको निर्वाचन समयमा हुन नसकेमा संविधान कार्यान्वयनमा जटिलता उत्पन्न हुने बताउनुभयो ।

संविधानमा आगामी माघ ७ गतेभित्र ती निर्वाचन सम्पन्न हुनुपर्ने व्यवस्था छ । अहिले मुलुक निर्वाचन केन्द्रित भएकाले संविधान संशोधनका लागि छलफल गर्ने समय नभएकाले निर्वाचनपछि त्यसबारे सोच्न सकिने उहाँले बताउनुभयो ।

उहाँले राजपासँग सम्झौता गर्ने नेपाली काँग्रेसकै कारण सो दलले दोस्रो चरणको निर्वाचनमा भाग नलिएको आरोप लगाउँदै “काँग्रेस अहिले पनि दाउपेचको राजनीतिमा छ, ऊ राजपालाई निर्वाचनभन्दा बाहिर राख्न चाहन्छ तर राजपा एमालेका कारण माग पूरा भएन भनिरहेको छ,” भन्नुभयो ।

अध्यक्ष ओली ल्हासाबाट सिगात्से र कैलाश मानसरोबरको सांस्कृतिक तथा पर्यटकीय भ्रमणमा जानुभएको थियो । त्यहाँ रहँदा उहाँले तिब्बत स्वशासित क्षेत्रका पदाधिकारीसँग पनि भेटवार्ता गर्नुभएको थियो ।

आफ्नो सरकारका पालामा भएका पारवहनलगायतका सम्झौता पूरा गर्न चिनियाँ पक्ष तयार रहेको बताउँदैै अध्यक्ष ओलीले रसुवाको केरुङ् सीमासम्म चीनले रेल बाटो बनाइरहेको र नेपाल सरकारले आग्रह गरेमा सीमाबाट यता नेपालमा पनि सो बाटो विस्तारमा सघाउन चीन तयार रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले यसबारे आफूले सरकारलाई अवगत गराउने पनि बताउनुभयो । अध्यक्ष ओलीलाई पार्टीका उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेललगायतका नेताले स्वागत गर्नुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 63

प्रतिक्रिया (०)

सम्बन्धित खबर