
काठमाण्डौ- हुम्ला र बाजुराको सीमा क्षेत्र लाम्पाटामा भएको सीमा विवाद तथा दोहोरो झडपबारे बुझ्न गृह मन्त्रालयद्वारा गठित जाँचबुझ समितिको टोली हुम्ला पुगेको छ । प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) विमलराज पौडेल नेतृत्वको टोली हिजो सिमकोट पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार दुई जिल्लाबीच भएको घटनाको स्थलगत यथार्थता बुझ्न पुगेको टोली घटना भएको क्षेत्र लामपाटा, च्याचौर क्षेत्र पुगेर सिमकोट पुगेको हो । टोलीले सिमकोट बसाइँका क्रममा सीमा क्षेत्रका नागरिक, घटनामा संलग्न व्यक्ति र सीमा जोडिएका क्षेत्रका जनप्रतिनिधि, राजनीतिक दलका नेता र नागरिक अगुवासँग घटनाका बारेमा छलफल गर्ने कार्यक्रम रहेको छ ।
यसअघि गएको जेठ २ गतेदेखि ४ गतेसम्म सीमाको विषयलाई लिएर हुम्ला र बाजुराका नागरिकबीच भएको झडपले उग्रहरुप लिएपछि गृहमन्त्रालयले टोली गठन गरेको थियो । चालू आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकारले ४० लाख रुपैयाँ बजेट विनियोजन गरेर त्यस क्षेत्रमा प्रहरीचौकी निर्माण शुरू गरेपछि विवाद भएको हो ।

सीमा विवादले उग्ररुप लिँदा लाम्पाटामा दुई जिल्लाका स्थानीयबीच झडप हुँदा बाजुराका चार जना घाइते भएका थिए । घाइते चारै जनाको हेलिकोप्टरबाट उद्धार गरिएको थियो ।


