
काठमाडौं – चिकित्सकहरूले क्यान्सर उपचारको क्षेत्रमा महत्वपुर्ण सफलता प्राप्त गरेका छन् । कुनै पनि उपचारले निको हुन नसकेका केही बिरामीहरूको ट्युमरलाई समेत पूर्ण रूपमा निको पार्ने एक नयाँ इन्जेक्सनको चिकित्सकहरुले सफल परीक्षण गरेका हुन् ।
‘जोन्सन एन्ड जोन्सन‘ कम्पनीले विकास गरेको ‘अमिभान्तामाब‘ नामक यो सिरिन्जको ११ वटा देशमा क्लिनिकल परीक्षण गरिएको थियो । अन्य उपचार असफल भएपछि क्यान्सर शरीरका अन्य भागमा फैलिएका वा पुनः बल्झिएका बिरामीहरूमा यो परीक्षण गरिएको हो ।
परीक्षणका क्रममा एक तिहाइभन्दा बढी बिरामीहरूको ट्युमर खुम्चिएको पाइएको छ भने सिरिन्ज लगाएको केही सातामै यसको उल्लेखनीय प्रभाव देखिएको छ। विशेष गरी १५ जना बिरामीहरूको ट्युमर पूर्ण रूपमै गायब भएको चिकित्सकहरूले उल्लेख गरेका छन् ।

लन्डनस्थित ‘इन्स्टिच्युट अफ क्यान्सर रिसर्च‘ का प्राध्यापक केभिन ह्यारिङ्टनका अनुसार केमोथेरापी र इम्युनोथेरापी दुवैले काम गर्न छाडेका बिरामीहरूमा यस्तो बलियो नतिजा देखिनु अभूतपूर्व हो।
उपचारका विकल्पहरू समाप्त भइसकेका बिरामीहरूमा यो स्तरको फाइदा देखिनु निकै आश्चर्यजनक रहेको र यस औषधिले हरेक वर्ष हजारौँ बिरामीलाई बचाउन सक्ने क्षमता राख्ने उनले बताएका छन्।
यस परीक्षणमा टाउको र घाँटीको क्यान्सर भएका १०२ जना बिरामीहरूलाई सहभागी गराइएको थियो, जुन संसारकै छैटौँ सबैभन्दा बढी देखिने क्यान्सर हो। तीमध्ये ४३ जनाको ट्युमर कि त खुम्चियो कि त पूर्ण रूपमा गायब भयो। जसमध्ये २८ जनाको ट्युमर सानो भएको थियो भने १५ जनाको शरीरबाट क्यान्सर पूर्ण रूपमा हटेको थियो।
टाउको र घाँटी बाहेक फोक्सोको क्यान्सर भएका बिरामीहरूमा पनि यस औषधिले उस्तै सकारात्मक नतिजा देखाएको छ । यो औषधिले क्यान्सर फैलाउने प्रोटिनलाई रोक्ने र शरीरको रोग प्रतिरोधात्मक प्रणालीलाई सक्रिय बनाएर ट्युमरविरुद्ध लड्न मद्दत गर्ने गर्दछ।
सन् २०२४ मा जिब्रोको क्यान्सर भएपछि सन् २०२५ देखि यस परीक्षणमा सहभागी भएका ५६ वर्षीय कार्ल वाल्सले औषधीको प्रभावप्रति खुसी व्यक्त गरेका छन् ।
यसअघि ऐंठन र दुखाइका कारण बोल्न र खान समेत गाह्रो हुने गरेकोमा अहिले आफूले सामान्य जीवन बिताउन थालेको उनले बताएका छन्। हाल यस औषधिको क्षमता जाँच्नका लागि विश्वभर करिब ६० वटा विभिन्न क्लिनिकल परीक्षणहरू भइरहेका छन् ।
मुख्यतस् फोक्सोको क्यान्सरका साथै मस्तिष्क, पेट र ठूलो आन्द्राको क्यान्सरको उपचारमा यसको प्रभावकारिता अध्ययन गरिंदै छ। यो ऐतिहासिक अनुसन्धानको नतिजा सिकागोमा आयोजना हुने ‘अमेरिकन सोसाइटी अफ क्लिनिकल ओन्कोलोजी‘ को वार्षिक बैठकमा प्रस्तुत गरिँदै छ।


